बाढी प्रभावित पाँच जिल्लाका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श

Headlines समाचार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर बाढीबाट प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदहरूसँग बाढीले पुर्याएको क्षति, तटीय क्षेत्रका बस्तीहरूको अवस्था, उद्धार तथा राहत कार्यका विषयमा केन्द्रित भई छलफल गरेका हुन् ।

भेटमा त्यस क्षेत्रका सांसदहरूले आ–आफ्नो क्षेत्रमा परेको असर र उद्धार तथा राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।

त्यसअघि, प्रधानमन्त्री शाहले आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक डाकेर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार, खोज तथा राहतको प्रगतिबारे उच्चस्तरीय जानकारी लिएका थिए ।

बाढी प्रभावित क्षेत्रका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको सुरक्षा र राहतमा पूर्ण प्रतिबद्धताका साथ खटिएको उल्लेख गर्दै तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन र विस्थापितहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न मातहतका निकायलाई स्पष्ट निर्देशन दिइसकिएको जानकारी गराए ।

सरकारले बाढीग्रस्त क्षेत्रमा सुरक्षा निकायका टोलीहरू परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ ।