भोटेकोशीमा बाढीको कहर : प्रधानमन्त्रीको आपत्कालीन बैठक, उद्धारमा सेना परिचालन

Headlines समाचार

काठमाडौं ,रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन शाहले उद्धार तथा राहतका लागि आवश्यक थप कदमबारे छलफल गर्न आपत्कालीन बैठक बोलाएका छन्।

प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी हुने गरी उच्चस्तरीय बैठक बोलाएका हुन्। ‘अबको केही बेरमा आगामी आवश्यक कदमहरू चाल्न उच्चस्तरीय बैठक बोलाइएको छ,’ उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार कार्य अघि बढाउन तथा भोटेकोशीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसैबीच, बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवातर्फ पठाइएको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धारका लागि दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको हो।

उनका अनुसार थप एक हेलिकप्टरसमेत प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ।

बाढीको जोखिम बढेपछि सुरक्षा निकायलाई उद्धार तथा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्यमा केन्द्रित हुन निर्देशन दिइएको छ।