उद्यमशीलता क्षमता विकास गर्न राष्ट्र बैंकको आग्रह, विचारदेखि कार्यान्वयनसम्म तीन चरणमा जोड

Sticky News आर्थिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्ति तथा संस्थाको आर्थिक, सामाजिक तथा व्यावसायिक प्रगतिका लागि उद्यमशीलता क्षमता विकास गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले मंगलबार वित्तीय चेतनासम्बन्धी सन्देश जारी गर्दै उद्यमशीलता व्यवसाय सञ्चालनमा मात्र सीमित नभई समाजका लागि आर्थिक, सांस्कृतिक तथा सामाजिक मूल्य सिर्जना गर्ने कार्य भएको स्पष्ट पारेको हो।

राष्ट्र बैंकका अनुसार निजी, सार्वजनिक तथा सामाजिक क्षेत्रका साथै विभिन्न मूल्य शृंखलामा कार्यरत कर्मचारी, व्यवसायी तथा सर्वसाधारण सबैमा उद्यमशील क्षमता आवश्यक हुन्छ। बदलिँदो आर्थिक तथा व्यावसायिक वातावरणमा अवसर पहिचान गर्ने, उपलब्ध स्रोतको उचित परिचालन गर्ने र विचारलाई व्यवहारमा परिणत गर्ने क्षमता उद्यमशीलताको आधार भएको बैंकले जनाएको छ।

राष्ट्र बैंकले उद्यमशीलता क्षमतालाई मुख्यतः विचार तथा अवसर पहिचान, स्रोत जुटाउने र विचारलाई कार्यमा परिणत गर्ने गरी तीन क्षेत्रमा विभाजन गरेको छ। यी तीनै क्षेत्रमा आवश्यक क्षमता विकास गर्न सके व्यक्ति तथा संस्थाले उपलब्ध अवसरलाई प्रभावकारी रूपमा उपयोग गर्दै मूल्य सिर्जना गर्न सक्ने बैंकको भनाइ छ।

अवसर पहिचानदेखि विचार मूल्यांकनसम्म

राष्ट्र बैंकले उद्यमशीलताको पहिलो आधारका रूपमा विचार तथा अवसर पहिचान गर्ने क्षमतालाई अघि सारेको छ। यसअन्तर्गत समाज तथा बजारमा रहेका सम्भावित अवसर पहिचान गर्ने र त्यसको उपयोग गर्ने क्षमता आवश्यक हुने बैंकले जनाएको छ।

त्यस्तै, नयाँ, नौलो र उपयोगी विचार विकास गर्न सिर्जनशीलता आवश्यक हुन्छ। भविष्यमा हुन सक्ने परिवर्तन र आवश्यकतालाई ध्यानमा राखेर स्पष्ट दृष्टिकोणसहित योजना बनाउनुपर्ने राष्ट्र बैंकको सुझाव छ।

कुनै पनि नयाँ विचार कार्यान्वयन गर्नुअघि त्यसको सम्भावना र प्रभाव मूल्यांकन गर्नुपर्ने बैंकले जनाएको छ। आर्थिक लाभसँगै त्यस्तो विचार वा व्यवसायले पार्ने सामाजिक, सांस्कृतिक तथा वातावरणीय प्रभावलाई समेत ध्यान दिनुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ।

स्रोत जुटाउन आत्मविश्वास र वित्तीय साक्षरता आवश्यक

विचार पहिचान गरेपछि त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत जुटाउने क्षमता अर्को महत्वपूर्ण पक्ष रहेको राष्ट्र बैंकले जनाएको छ।

यसका लागि आफ्नो सबल तथा कमजोर पक्ष पहिचान गरी निरन्तर सुधार गर्ने आत्मविश्वास आवश्यक हुने बैंकको भनाइ छ। चुनौतीपूर्ण अवस्थामा पनि लक्ष्य प्राप्तिका लागि उत्प्रेरित र दृढ रहनुपर्ने तथा आवश्यक वस्तुगत, गैरवस्तुगत र प्रविधिसम्बन्धी स्रोतको उचित व्यवस्थापन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

विचारलाई वास्तविक मूल्यमा परिणत गर्न लाग्ने लागत, उपलब्ध वित्तीय स्रोत तथा सम्भावित आम्दानीको विश्लेषण गर्न वित्तीय तथा आर्थिक साक्षरता आवश्यक हुने बैंकले उल्लेख गरेको छ।

त्यस्तै, सामूहिक रूपमा काम गर्न सक्ने क्षमता पनि उद्यमशीलताको महत्वपूर्ण पक्ष भएको राष्ट्र बैंकको भनाइ छ। अरूलाई प्रेरित गर्ने, समन्वय तथा सहकार्य गर्ने र सामूहिक लक्ष्य हासिल गर्न व्यक्तिको क्षमता विकास गर्नुपर्ने बैंकले जनाएको छ।

विचारलाई व्यवहारमा परिणत गर्न जोड

राष्ट्र बैंकले उद्यमशीलताको तेस्रो महत्वपूर्ण पक्षका रूपमा विचारलाई कार्यमा परिणत गर्ने क्षमतालाई राखेको छ। सोच र योजना मात्र पर्याप्त नहुने भन्दै त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सक्ने क्षमता आवश्यक रहेको बैंकले जनाएको छ।

यसअन्तर्गत चुनौती तथा समस्या समाधान गर्दै काम सुरु गर्ने, अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन लक्ष्य निर्धारण गर्ने तथा उपलब्ध स्रोतअनुसार प्राथमिकता तय गर्नुपर्ने राष्ट्र बैंकको सुझाव छ।

व्यवसाय वा कुनै पनि नयाँ काममा अनिश्चितता तथा जोखिम रहने भएकाले त्यसको पूर्वानुमान गरी आवश्यक रणनीति बनाउनुपर्ने बैंकले जनाएको छ। जोखिम व्यवस्थापन गर्न नसक्दा राम्रो विचारसमेत असफल हुन सक्ने भएकाले सम्भावित जोखिम पहिचान गरी पूर्वतयारी गर्नुपर्नेमा राष्ट्र बैंकले जोड दिएको छ।

त्यस्तै, सहकार्य तथा सञ्जाल विस्तारलाई पनि उद्यमशीलताको महत्वपूर्ण आधारका रूपमा लिइएको छ। विभिन्न व्यक्ति तथा संस्थासँग मिलेर काम गर्ने, सम्भावित द्वन्द्व व्यवस्थापन गर्ने र आवश्यक सञ्जाल विस्तार गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बैंकले जनाएको छ।

गल्तीबाट सिकेर अघि बढ्न सुझाव

उद्यमशीलता विकासका क्रममा अनुभवबाट सिक्ने क्षमतालाई समेत राष्ट्र बैंकले महत्वपूर्ण मानेको छ। आफ्ना तथा अरूका सफलता र गल्तीबाट पाठ सिकेर आगामी काममा त्यसलाई प्रयोग गर्नुपर्ने बैंकको सुझाव छ।

कुनै काम असफल हुनु मात्र अन्त्य नभई त्यसबाट सिकेर आगामी योजना सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने राष्ट्र बैंकको सन्देश छ। निरन्तर सिकाइ र सुधारबाट मात्रै विचारलाई दीर्घकालीन मूल्यमा परिणत गर्न सकिने बैंकले जनाएको छ।

व्यवसायमा मात्र सीमित छैन उद्यमशीलता

राष्ट्र बैंकले उद्यमशीलतालाई व्यवसायी वा उद्यमीमा मात्र आवश्यक पर्ने क्षमताका रूपमा नबुझ्न आग्रह गरेको छ। कर्मचारी, व्यवसायी तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा संलग्न व्यक्तिका लागि समेत उद्यमशील क्षमता आवश्यक हुने बैंकको भनाइ छ।

बैंकका अनुसार अवसर पहिचान गर्ने, समस्या समाधान गर्ने, स्रोत व्यवस्थापन गर्ने, जोखिम सामना गर्ने, सहकार्य गर्ने तथा नयाँ विचारलाई व्यवहारमा उतार्ने क्षमता व्यक्तिगत तथा व्यावसायिक जीवनका सबै क्षेत्रमा उपयोगी हुन्छ।

त्यसैले आफ्नो काम वा व्यवसायको प्रकृति जुनसुकै भए पनि व्यक्तिले उद्यमशील क्षमता निरन्तर विकास गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। विचारलाई केवल सोचमा सीमित नराखी उपलब्ध स्रोत र अवसरको मूल्यांकन गर्दै त्यसलाई व्यवहारमा परिणत गर्न बैंकले सुझाव दिएको छ।

राष्ट्र बैंकले ग्राहकसम्बन्धी कुनै गुनासो भएमा आफ्नो गुनासो व्यवस्थापन प्रणालीमार्फत सम्पर्क गर्न सकिने जनाएको छ।