वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक र राजनीतिक रूपमा धराशायी बन्दै गएको दाबी गरेका छन्। अमेरिकाले तेहरानमाथि नयाँ आर्थिक दबाब अभियान घोषणा गर्ने तयारी गरिरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो।
ट्रम्पले सामाजिक सञ्जालमार्फत इरान ‘पूर्ण रूपमा धराशायी’ भएको दाबी गरेका छन्। उनले इरानविरुद्ध सैन्य कारबाहीसँगै आर्थिक दबाबलाई थप तीव्र बनाउने संकेत गरेका छन्।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि इरानविरुद्ध आर्थिक दबाबको नयाँ चरण सुरु भएको बताएका छन्। उनले इरानलाई सहयोग गर्ने देशहरूलाई समेत अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

बेसेन्टका अनुसार अमेरिकी सैन्य कारबाहीबाट इरानको सैन्य क्षमता र आणविक कार्यक्रममा ठूलो क्षति पुगेको छ। अब इरानको आर्थिक स्रोत कमजोर बनाउनेतर्फ अमेरिकाले ध्यान केन्द्रित गरेको उनको भनाइ छ।
तर इरानले अमेरिकी कदमलाई अमेरिकाको सैन्य असफलताको संकेतका रूपमा व्याख्या गरेको छ। इरानका उपपरराष्ट्रमन्त्री काजेम गरीबाबादीले अमेरिकाले आफ्ना उद्देश्य पूरा गरिसकेको भए थप आर्थिक दबाब र अन्तर्राष्ट्रिय शक्ति परिचालन गर्नुपर्ने अवस्था किन आयो भन्दै प्रश्न गरेका छन्।
इरानले अन्य देशलाई पनि अमेरिकी अभियानमा सहभागी नहुन चेतावनी दिएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकी प्रयासमा सहयोग गर्ने देशले त्यसको परिणाम भोग्नुपर्ने बताएका छन्।
हर्मुज नाकाबन्दीले तेल आपूर्ति प्रभावित
इरान र अमेरिका–इजरायलबीच जारी द्वन्द्वको प्रमुख असर विश्वव्यापी ऊर्जा आपूर्तिमा परेको छ। इरानले हर्मुज जलसन्धिमा आवागमन रोकिरहेकाले विश्व बजारमा तेल तथा ग्यास आपूर्तिमाथि दबाब बढेको छ।
समुद्री आवागमन निगरानी गर्ने संस्था केप्लरका अनुसार अमेरिकी नौसैनिक नाकाबन्दीपछि हर्मुज जलसन्धितर्फ इरानको तेल निर्यात युद्धअघिको दैनिक करिब २० लाख ब्यारेलबाट घटेर अगस्टको मध्यसम्म करिब ४ लाख ब्यारेलमा सीमित भएको छ।
ऊर्जा आपूर्तिमा आएको अवरोधले विश्वव्यापी मुद्रास्फीतिको दबाब बढाएको छ। अमेरिकामा समेत युद्धको आर्थिक प्रभावलाई लिएर ट्रम्प प्रशासनमाथि घरेलु दबाब बढ्दै गएको छ।
इरान लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धमा रहँदै आएको छ। सन् २०१५ को आणविक सम्झौतापछि केही समय प्रतिबन्ध खुकुलो भए पनि ट्रम्पले पहिलो कार्यकालमा ‘अधिकतम दबाब’ अभियानमार्फत प्रतिबन्ध पुनः कडा बनाएका थिए।
इरानमा आर्थिक संकट गहिरिँदै
नयाँ आर्थिक प्रतिबन्धले इरानमा मुद्रास्फीति, बेरोजगारी र जीविकोपार्जनको समस्या थप गहिरिन सक्ने देखिएको छ। यसअघि नै आर्थिक संकटका कारण इरानमा सरकारविरोधी प्रदर्शनसमेत भएका थिए।
इरानी राष्ट्रपति मसूद पेजेस्कियानले पनि देशमा मुद्रास्फीति, जीविकोपार्जन र बेरोजगारीलगायत समस्या रहेको स्वीकार गरेका छन्। उनले जनताको भविष्य सुरक्षित गर्न सरकार प्रयासरत रहेको बताएका छन्।
यसैबीच, युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास पनि जारी छन्। पाकिस्तान र ओमानले अमेरिका र इरानबीच वार्ताको वातावरण बनाउन मध्यस्थता गरिरहेका छन्। पाकिस्तानी प्रतिनिधिमण्डल तेहरान पुग्ने तयारीमा छ भने ओमानी विदेशमन्त्री बद्र अल–बुसाईदी पनि इरान भ्रमणमा जाने अपेक्षा गरिएको छ।
हर्मुज जलसन्धिबाट हुने आवागमन सहज बनाउने विषयमा ओमानले तेहरानसँग छलफल गर्ने तयारी गरेको छ।


