काठमाडौँ । बञ्चरेडाँडा ल्यान्डफिल साइटका कारण स्थानीय नागरिक खेतबारीमा काम गर्न नसक्ने र गाउँ नै छाडेर बाहिर बस्नुपर्ने अवस्थामा पुगेको धादिङको धुनिवेशी नगरपालिका नगर प्रमुख बालकृष्ण आचार्यले बताएका छन् ।
नेपाल न्यूज बैँकसँगको कुराकानीमा उनले फोहोरबाट निस्कने लिचड(फोहोरको पानी) खेतबारीमा बग्ने, दुर्गन्धका कारण बस्न नसकिने र विभिन्न रोगको जोखिम बढेको भन्दै बञ्चरेडाँडाको अवस्था अत्यन्तै पीडादायी बनेको बताए ।
‘जनताले आफ्नै खेतबारी छाड्नुपरेको छ, गाउँ छाडेर डेरा लिएर बस्नुपर्ने अवस्था आएको छ,’ उनले भने ।

आचार्यका अनुसार लिचड मिसिएको पानी खेतबारीमा पुग्दा खेती गर्न नसकिने अवस्था छ भने त्यसको सम्पर्कले मानिसको खुट्टासमेत कुहिने गरेको गुनासो स्थानीयले गर्दै आएका छन् ।
दूषित फोहोर पशुचौपायाले खाँदा मर्ने, असह्य दुर्गन्ध फैलिने तथा चिल–गिद्धले फोहोरका वस्तु बस्ती र खेतबारीमा लगेर फाल्ने समस्याले स्थानीयको जनजीवन कष्टकर बनेको उनले बताए । ‘त्यहाँको अवस्था एकदमै दर्दनाक छ, जनता अति पीडित छन्,’ आचार्यले भने ।
बञ्चरेडाँडा समस्या नयाँ नभएको उल्लेख गर्दै उनले नेपाल सरकारले २०६२÷६३ सालदेखि उक्त क्षेत्रमा फोहोर लैजान थालेको बताए । तर, फोहोर व्यवस्थापनका लागि अधिग्रहण गरिएको भनिएको जग्गा कति र कहाँ रहेको छ भन्ने विषयसमेत अझै स्पष्ट हुन नसकेको उनको भनाइ छ ।
विगतदेखि स्थानीयले पटक–पटक आवाज उठाए पनि समस्या समाधान नभएको र अहिले पनि उपत्यकासहित करिब २१ स्थानीय तहको फोहोर दैनिक तीन सयभन्दा बढी गाडीमार्फत त्यहाँ पु¥याइने गरेको उनले बताए ।
कानुनअनुसार प्रत्येक स्थानीय तहले आफ्नो फोहोर आफैं व्यवस्थापन गर्नुपर्ने व्यवस्था भए पनि व्यवहारमा लागू नभएको र ठूलो संख्यामा स्थानीय तहको फोहोर एउटै क्षेत्रमा थुपारिएको आचार्यको आरोप छ ।
काठमाडौँ महानगरपालिकाले अन्य पालिकाको समेत फोहोर व्यवस्थापनको जिम्मेवारी लिएर ठेकेदारको जस्तो भूमिका खेलेको भन्दै उनले अन्य स्थानीय तहले फोहोर कसरी व्यवस्थापन भइरहेको छ भन्ने विषयमा समेत चासो नदिएको बताए ।
स्थानीय जनप्रतिनिधिले चाहेर पनि आफ्नो क्षेत्रमा लगेर फालिएको फोहोर व्यवस्थापन गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ ।
फोहोर व्यवस्थापनका नाममा बारम्बार बैठक, सहमति र सम्झौता भए पनि कार्यान्वयन नभएको भन्दै आचार्यले पछिल्लो समय भइरहेका छलफललाई ‘नाटकबाजी’ को संज्ञा दिएका छन ।
उनका अनुसार बञ्चरेडाँडासम्बन्धी यसअघि नै करिब ७६–७७ वटा सम्झौता भइसकेका छन् र ती सम्झौताका रेकर्ड मन्त्रालय, विभाग तथा महानगरपालिकासँग छन् ।
‘साँच्चै समाधान गर्ने हो भने पुराना सम्झौताका फाइल खोल्ने, फोहोर फालिएको ठाउँको वास्तविक अवस्था हेर्ने र विज्ञसँग बसेर काम गर्ने हो । फेरि बैठक गरेर देखाउने काम मात्रै भइरहेको छ,’ उनले भने ।
आचार्यले बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको नयाँ स्थान पनि छोटो समयमै भरिन थालेको बताए । फोहोर छुट्याएर व्यवस्थापन गरे ४० वर्ष र नगरे २० वर्षसम्म प्रयोग गर्न सकिने भनिए पनि कुँडुले क्षेत्रमा फोहोर फाल्न थालेको करिब चार वर्षमै मेसिनले ठेलेर राख्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
अब केही वर्षमै उक्त स्थान पनि भरिएपछि त्यसपछिको विकल्प के हुने भन्ने विषयमा सरकारले तत्काल गम्भीर योजना बनाउनुपर्ने उनले बताए ।
विगतमा स्थानीयको विरोध दबाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको स्मरण गर्दै आचार्यले अब समस्या समाधानका लागि केन्द्र सरकार, सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र फोहोर पठाउने सबै स्थानीय तहबीच ठोस समन्वय हुनुपर्ने बताए ।
अहिलेका प्रधानमन्त्रीबाट समाधानको अपेक्षा गरिए पनि पाँच–छ महिनासम्म ठोस पहल नदेखिँदा स्थानीय निराश हुन थालेको उनको भनाइ छ ।
आचार्यले थप्दै भने, ‘जनताको आक्रोश जायज छ । तर समाधान स्थानीयलाई आन्दोलनमा धकेलेर होइन, जिम्मेवार निकायले आफ्नो जिम्मेवारी पूरा गरेर खोज्नुपर्छ ।’
शुक्रबार मात्र सञ्चारमन्त्री विक्रम तिमल्सिना उपस्थितिमा काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका सन्दर्भमा सरोकारवालाहरुसँग छलफल गरिएको थियो । शहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त छलफलमा तिमल्सिनाले फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा उपलब्ध गराउन कानुनी तथा नीतिगत बाटो खोजेर अघि बढ्ने बताएका थिए ।
उपत्यकाका विभिन्न पालिका तथा महानगरका प्रतिनिधिहरुसहितको छलफलका क्रममा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले हल नै छाडेर बाहिरिएकी थिइन् ।
धादिङ–१ बाट निर्वाचित सांसद तामाङले उपत्यकाका स्थानीय सरकारहरू फोहोर थुपारिने बञ्चरेडाँडाका जनताले भोग्दै आएको समस्याप्रति गम्भीर नभएको भन्दै आक्रोशित भएकी थिइन् ।
त्यसै क्रममा सबै स्थानीय तह प्रमुख बैठकमा सहभागी नभएको र सहभागी भएकामध्ये पनि कोही बीचैमा उठेर हिँडेको भन्दै उनी बारम्बार टेबल ठोक्दै, मेयरहरूतिर औंला तेस्र्याउँदै जंगिएकी थिइन्। त्यसपछि ’काठमाडौंको फोहोर रोकिने’ चेतावनी दिँदै उनी हलबाट वाहिरिएकी थिइन् ।
सन्तोषी रावल , नेपाल न्यूज बैँक


