७५ देशमाथिको ट्रम्पको भिसा प्रतिबन्धविरुद्ध अमेरिकी अदालतको आदेश

Headlines अन्तराष्ट्रिय

काठमाडौं । अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ७५ देशका नागरिकका लागि लागू गरेको आप्रवासी भिसा प्रतिबन्धविरुद्ध आदेश दिएको छ। न्युयोर्कको दक्षिणी जिल्लाकी संघीय न्यायाधीश जीनेट भर्गासले शुक्रबार उक्त नीति कानुनविपरीत रहेको ठहर गरेकी हुन्।

जनवरीमा लागू गरिएको नीतिअन्तर्गत अफगानिस्तान, ब्राजिल, इजिप्ट, इरान, इराक, नाइजेरिया, सोमालिया, थाइल्यान्ड र यमनसहित ७५ देशका नागरिकको अमेरिका स्थायी रूपमा बसोबास गर्न जाने आप्रवासी भिसा प्रक्रिया निलम्बन गरिएको थियो।

न्यायाधीश भर्गासले आवेदक अन्य सबै आधारमा योग्य भए पनि उसको देशका आधारमा मात्रै आप्रवासी भिसा अस्वीकार गर्न कन्सुलर अधिकारीलाई दिइएको निर्देशन कानुनी अधिकारभन्दा बाहिर रहेको बताएकी छन्।

अदालतको आदेशले उक्त नीतिका आधारमा अस्वीकृत गरिएका भिसा आवेदनलाई खारेज गरेको छ। यद्यपि अमेरिकी सरकारले फैसलाविरुद्ध पुनरावेदन गर्न सक्नेछ।

ट्रम्प प्रशासनले उच्च जोखिमयुक्त देशबाट आउने आप्रवासीले अमेरिकी कल्याणकारी प्रणालीमा भार नपारून् भन्ने उद्देश्यले भिसा प्रक्रिया रोकिएको दाबी गर्दै आएको थियो।

अदालतको पछिल्लो आदेशलाई ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिमाथिको महत्वपूर्ण कानुनी चुनौतीका रूपमा हेरिएको छ। ह्वाइट हाउसमा पुनः फर्किएपछि ट्रम्पले गैरकानुनी आप्रवासीको निर्वासन तीव्र बनाउने र अमेरिका प्रवेशमा कडाइ गर्ने नीति अघि बढाउँदै आएका छन्।