चिनीको मूल्य नियन्त्रण गर्न भारतको कदम, १० लाख टन कच्चा पदार्थ भन्सार छुटमा आयात खुला

अन्तराष्ट्रिय अर्थ

 

काठमाडौं । चाडपर्वको मौसम नजिकिँदै गर्दा चिनीको मूल्य बढ्न थालेपछि भारतले चिनी उत्पादनका लागि आवश्यक कच्चा पदार्थ १० लाख मेट्रिक टनसम्म भन्साररहित आयात गर्न स्वीकृति दिएको छ।

भारतको संघीय वाणिज्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै ‘ट्यारिफ रेट कोटा’ अन्तर्गत १० लाख मेट्रिक टनसम्म कच्चा चिनी भन्साररहित आयात गर्न सकिने जनाएको हो। यो सुविधा अक्टोबर ३१ सम्म उपलब्ध हुनेछ।

स्थानीय बजारमा कच्चा चिनीको आपूर्ति घट्न सक्ने चिन्ता बढेपछि सरकारले आयात सहज बनाउने निर्णय गरेको हो। यसबाट आन्तरिक बजारमा चिनीको आपूर्ति बढाई मूल्य नियन्त्रण गर्ने सरकारको अपेक्षा छ।

भारतमा आगामी सेप्टेम्बरदेखि जनवरीसम्म चिनीको खपत बढ्ने गर्छ। दसैं, दीपावलीलगायतका चाडपर्वमा मिठाई तथा अन्य मिठासयुक्त खाद्य पदार्थको माग बढ्ने भएकाले चिनीको खपतसमेत बढ्ने गरेको छ।

यस वर्ष कमजोर मनसुनको सम्भावनाले चिनी उत्पादनमा असर पर्न सक्ने चिन्ता पनि बढेको छ। एल निनोको सम्भावित प्रभावका कारण मनसुन औसतभन्दा कमजोर हुन सक्ने अनुमान गरिएको छ। उत्पादन घट्ने आशंकाबीच स्थानीय बजारमा चिनीको मूल्य रेकर्डस्तरमा पुगेका समाचार सार्वजनिक भइरहेका छन्।

आन्तरिक आपूर्ति बढाउने उद्देश्यले भारतले गत मे महिनामा चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्ध सेप्टेम्बर ३० सम्म कायम रहनेछ।

यसअघि निर्यातमा लगाइएको प्रतिबन्ध र अहिले कच्चा पदार्थको भन्साररहित आयात खुला गर्ने निर्णयले भारतले चाडपर्वको उच्च मागअघि घरेलु बजारमा चिनीको पर्याप्त आपूर्ति कायम राख्न खोजेको देखिन्छ।