काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै पदबहाली गर्नुभएको छ।
गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष रावलले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नर पदमा नियुक्त हुनुभएको हो।
शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर रावललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो।

रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा नेपाल राष्ट्र बैंकको सेवा प्रवेश गर्नुभएको थियो। उहाँ २०६९ सालमा उपनिर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति हुनुभएको थियो।
कार्यकारी निर्देशकमा पदोन्नतिपछि रावलले बैंक सुपरीवेक्षण विभागको नेतृत्व सम्हाल्दै आउनुभएको थियो।
डेपुटी गभर्नरमा नियुक्त भएपछि उहाँले नेपाल राष्ट्र बैंकको मौद्रिक तथा बैंकिङ क्षेत्रसम्बन्धी जिम्मेवारीमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेछ।


