पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

Headlines समाचार

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरण प्रणालीमा देखिएका समस्या समाधान गर्न सुधारको गृहकार्य अघि बढाउन निर्देशन दिएका छन्।

सञ्चार मन्त्रालयमा बिहीबार सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालका अधिकारीसँग भएको छलफलमा एउटै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेका धेरै पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापन लिने, वास्तविकभन्दा बढी पत्रिका छापेको विवरण पेस गर्ने तथा काउन्सिलमा बुझाइएको विवरण र वास्तविक प्रकाशन सङ्ख्याबीच फरक हुनेजस्ता समस्या उठाइएको थियो।

विभाग र काउन्सिलका अधिकारीहरूका अनुसार केही पत्रपत्रिकाले काउन्सिलमा पेस गरेको विवरणभन्दा कम सङ्ख्यामा प्रकाशन गर्ने गरेको पाइएको छ। नमुना छनोट गरी प्रेस तथा पत्रपत्रिका कार्यालयको स्थलगत निरीक्षण गर्दा पनि कतिपय अवस्थामा पेस गरिएको विवरण र वास्तविक अवस्थाबीच फरक भेटिएको छ।

हाल पत्रपत्रिका वर्गीकरण गर्दा वास्तविक वितरण सङ्ख्या हेर्न सम्बन्धित सञ्चार संस्थाको स्वघोषणा र लेखापरीक्षणबाट प्राप्त विवरणलाई आधार बनाउने गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।

छलफलपछि मन्त्री तिमिल्सिनाले वास्तविक प्रकाशन तथा वितरण सङ्ख्या यकिन गर्ने प्रभावकारी प्रणाली बनाउन, वर्गीकरणको आधार स्पष्ट पार्न र लोककल्याणकारी विज्ञापन वितरणलाई पारदर्शी तथा विधिसम्मत बनाउन निर्देशन दिएका छन्। सरकारी विज्ञापनमा हुने दोहोरोपन हटाई सीमित स्रोतको प्रभावकारी उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० मा पत्रपत्रिका वितरण सम्परीक्षण समितिको व्यवस्था छ। समितिले पत्रपत्रिकाको वितरण अवस्थाका आधारमा प्रकाशन सङ्ख्या निर्धारण गर्ने, अभिलेख अद्यावधिक गर्ने तथा प्रकाशन सङ्ख्याका आधारमा पत्रपत्रिकाको वर्गीकरण गर्ने व्यवस्था छ।

त्यसैगरी, प्रेस काउन्सिल (कार्यव्यवस्था) नियमावली, २०४९ मा पत्रपत्रिका वितरण सम्परीक्षणसम्बन्धी उजुरी तथा कारबाहीको व्यवस्था गरिएको छ। पत्रपत्रिका वितरण सम्परीक्षणको मापदण्ड, २०६६ (परिमार्जन २०७९) मा पत्रपत्रिकाको वितरण सङ्ख्या यकिन गर्न प्रेस तथा बजार निरीक्षण गर्न सकिने व्यवस्था छ।

यी कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए नभएकोबारे अध्ययन गर्न पनि मन्त्रीले निर्देशन दिएका छन्।

छापा र डिजिटल माध्यमलाई समेट्ने तयारी

अनलाइन, डिजिटल तथा मल्टिमिडिया सञ्चारमाध्यमको विस्तारसँगै विज्ञापन बजार डिजिटलतर्फ सर्दै गएकाले विद्यमान सरकारी विज्ञापन प्रणाली पुनरावलोकन गर्ने तयारी मन्त्रालयले गरेको छ।

मन्त्रालयले छापा, अनलाइन तथा अन्य डिजिटल माध्यमलाई समेट्ने एकीकृत वर्गीकरण प्रणालीको सम्भावना अध्ययन गर्ने भएको छ। साथै, लोककल्याणकारी विज्ञापनको उद्देश्य, वितरण प्रणाली तथा त्यसको मिडिया र सार्वजनिक सूचना प्रवाहमा परेको प्रभावसमेत समीक्षा गरिनेछ।

छलफलमा मन्त्री तिमिल्सिनाले प्रेस काउन्सिलको आर्थिक तथा प्रशासनिक काम पारदर्शी र व्यवस्थित बनाउन तथा महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा औँल्याइएका बेरुजु समयमै फछ्र्यौट गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।