काठमाडौँ । विश्वव्यापी भुक्तानी प्रविधि कम्पनी Mastercard र नेपालको अग्रणी डिजिटल वालेट तथा युनिफाइड QR भुक्तानी प्रणाली सञ्चालक MOCO बीचको सहकार्यमा नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि ‘Pay Local’ सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
यस प्रविधिमार्फत वैदेशिक पर्यटकहरूले आफ्नो Mastercard (क्रेडिट वा डेबिट कार्ड) लाई MOCO Travel App मा लिंक गरी नेपालभरका NepalPay तथा Fonepay QR नेटवर्कमा आबद्ध व्यवसायीहरूमार्फत सहजै डिजिटल भुक्तानी गर्न सक्नेछन्। उक्त एप Apple App Store र Google Play Store दुवैमा उपलब्ध छ।
Mastercard को अन्तर्राष्ट्रिय ‘Pay Local’ पूर्वाधारमा आधारित यस प्रविधिले पर्यटकहरूलाई भौतिक नगद बोक्ने, विदेशी मुद्रा सटही गर्ने वा छुट्टै प्रिपेड खाता खोल्नुपर्ने झन्झटबाट मुक्ति दिनेछ।

सेवाका प्रमुख विशेषता तथा फाइदाहरू:
यस सहकार्यका बारेमा बोल्दै Mastercard (श्रीलंका, माल्दिभ्स, बङ्गलादेश, भुटान र नेपाल) का कन्ट्री म्यानेजर सन्दुन हापुगोडाले भने— “अन्तर्राष्ट्रिय पर्यटकहरू आफ्नो भ्रमणका क्रममा पनि परिचित र विश्वासिलो भुक्तानी माध्यम प्रयोग गर्न चाहन्छन्। MOCO मार्फत सुरु भएको Mastercard Pay Local ले नेपालको फराकिलो QR भुक्तानी पूर्वाधारसँग पर्यटकहरूलाई जोड्दै सीमापार भुक्तानीलाई झन्झटरहित बनाउनेछ।”
त्यस्तै, FOCUSONE Payment Solutions Pvt. Ltd. का प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले भने— “Mastercard सँगको सहकार्यमा इनबाउन्ड (नेपाल आउने) पर्यटकहरूको भुक्तानी अनुभवलाई आधुनिक बनाउन पाउँदा हामी उत्साहित छौँ। यस एपमार्फत पर्यटकहरूले स्थानीय QR नेटवर्क सहजै प्रयोग गर्न सक्नेछन्, जसले समग्र पर्यटन क्षेत्र र स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउनेछ।”
नेपालमा ‘Pay Local’ को सुरुआतसँगै Mastercard ले एसियाली क्षेत्रमा आफ्नो भुक्तानी सञ्जाल विस्तारलाई थप तीव्र बनाएको छ। यसअघि चीन, इन्डोनेसिया, मलेसिया, कम्बोडिया र श्रीलंकाजस्ता मुलुकहरूमा यो सेवा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ।


