काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण गरेको छ। नयाँ कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले गरेका छन्।
गत कार्तिक २७ गते सम्पन्न बैंकको उन्नाइसौँ वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं महानगरपालिका–२, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गरिएको हो।
बैंकका अनुसार नयाँ स्थानबाट बुधबारदेखि केन्द्रीय कार्यालयको सेवा सञ्चालनमा आएको छ। कार्यालय स्थानान्तरणसम्बन्धी जानकारी बैंकले आफ्ना ग्राहक तथा सम्बन्धित सबै सरोकारवालालाई गराउँदै थप जानकारीका लागि बैंकको वेबसाइट वा कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ।

बैंकको नयाँ केन्द्रीय कार्यालय राष्ट्रपति भवनबाट नजिकै वडा नम्बर ३ को कार्यालय तथा नेपाल आर्मी कल्याणकारी बोर्डको कार्यालय आसपासमा रहेको छ।
कार्यालय स्थानान्तरणसँगै बैंकको प्रशासनिक तथा केन्द्रीय सेवा नयाँ भवनबाट सञ्चालन हुने भएको छ। ग्राहकलाई सेवा लिन नयाँ कार्यालयको ठेगाना तथा सम्पर्क विवरणबारे जानकारी लिएर आवश्यक कामका लागि उपस्थित हुन बैंकले आग्रह गरेको छ।


