२०८३ भाद्र ३

चार लाखबाट सुरु भएको यात्रा : वीरेन्द्र बहादुर चन्दको संघर्षदेखि उद्यमशीलतासम्म

Headlines समाज

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–५, गोबडामा पिता इन्द्र बहादुर चन्द र स्वर्गीय माता जमुनादेवी चन्दको कोखबाट जन्मिएका वीरेन्द्रबहादुर चन्द काठमाडौं छिरेको एक दशकभन्दा बढी भइसक्यो । काठमाडौं आउँदा उनीसँग ठूलो योजना थिएन। सपना भने धेरै थिए तर ती सपना पूरा गर्ने बाटो स्पष्ट थिएन।

श्रीमती सानु देउवासँगै कीर्तिपुरमा एउटा सानो कोठाबाट सुरु भएको उनको काठमाडौंको यात्रा सहज थिएन । घरबाट ल्याएको १५ हजार रुपैयाँ कोठा र दैनिक खर्चमै सकियो । खर्च धान्न साथीभाइसँग सरसापट गर्नुपर्ने अवस्था आयो। ऋण बढ्दै गयो, चिन्ता बढ्दै गयो। तर, चन्दसँग एउटा कुरा थियो– त्यो हो, हार नमान्ने स्वभाव ।

उनी काठमाडौंमा जागिर खोज्दै धेरै ठाउँ पुगे। चिनेजानेका सबैसँग कामका लागि आग्रह गरे। तर, सहजरुपमा जागिर पाउन सकेनन् ।

अन्ततः कञ्चनपुरको पुनर्वास नगरपालिका–१, अंशुवर्मा निवासी नरेश स्याङ्ताङले उनलाई काठमाडौंमा टिक्न ठूलो सहयोग गरे। आफैँ त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा डिग्री गरेका नरेश पनि जागिर खोज्दै वैदेशिक रोजगार व्यवसाय(मेनपावर)क्षेत्रमा पुगेका थिए । उनले चन्दलाई एउटा मेनपावर कम्पनीमा कामको अवसर दिलाए।

त्यो अवसर चन्दका लागि केवल जागिर थिएन, काठमाडौंमा संघर्ष जारी राख्ने एउटा आधार थियो। सामाखुसीस्थित मेनपावर कार्यालयमा उनले करिब दुई वर्ष काम गरे। त्यसपछि कीर्तिपुरकै एउटा कन्सल्टेन्सीमा करिब एक वर्ष काम गर्ने अवसर पाए। त्यही एक वर्षले उनको जीवनको बाटो परिवर्तन गरिदियो ।

कन्सल्टेन्सीमा काम गर्दा उनले शैक्षिक परामर्श क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पाए। यस क्रममा इलामका धिरेन राई उनका लागि महत्वपूर्ण मार्गदर्शक बने। विशेषगरी दक्षिण कोरियामा अध्ययनसम्बन्धी काम, विद्यार्थी परामर्श, प्रक्रिया व्यवस्थापन र कन्सल्टेन्सी सञ्चालनका व्यावहारिक पक्षहरू उनले धिरेनबाट सिक्ने अवसर पाए।

धिरेनले आफ्नो अनुभव बाँडेर उनलाई अगाडि बढ्न मात्र सहयोग गरेनन्, आवश्यक ठाउँमा जिम्मेवारी हस्तान्तरण गरेर आत्मनिर्भर बन्ने वातावरणसमेत बनाइदिए।

त्यही अनुभव र आत्मविश्वासले चन्दको मनमा एउटा विचार जन्मियो– सधैँ अरूको संस्थामा काम गरेर मात्र हुँदैन, अब आफ्नै केही गर्नुपर्छ। त्यसको परिणामस्वरूप २०७४ सालमा जन्मियो, ओम्नी ग्लोबल इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी प्रालि।

चार लाखबाट सुरु भएको सपना

चन्दसँग ठूलो पुँजी थिएन। ऋण तथा सापटी गरेर करिब चार लाख रुपैयाँ जुटाए। कीर्तिपुरको पागादोबाटोमा सानो कार्यालय स्थापना गरे। कार्यालय ठूलो थिएन। पर्याप्त कर्मचारी थिएनन्। बजारमा प्रतिस्पर्धा भने निकै उच्च थियो। ठूलो लगानी नभए पनि चन्दसँग अनुभव थियो, सिकाइ थियो र निरन्तर काम गर्ने इच्छाशक्ति थियो।

२०७६ सालसम्म उनले कीर्तिपुरबाटै व्यवसाय सञ्चालन गरे। त्यसपछि आएको कोरोना महामारीले उनको व्यवसायसहित सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई गम्भीर असर ग¥यो। करिब दुई वर्ष व्यवसाय ठप्पजस्तै भयो।

व्यवसाय ठप्प हुँदा पूरानै प्रश्न अगाडि तेर्सियो– अब के गर्ने?

उनले आफूले सिकेको क्षेत्र छाडेनन्। परिस्थिति सहज भएपछि बानेश्वरमा कार्यालय सञ्चालन गर्दै उनले व्यवसायलाई पुनः अघि बढाए। आज त्यही व्यवसायले उनलाई मात्र होइन, अरू ६ जनालाई समेत रोजगारी दिएको छ।

चार लाख रुपैयाँबाट सुरु भएको एउटा सानो प्रयास आज रोजगारी सिर्जना गर्ने संस्थाका रूपमा विकसित भएको छ।

चन्द भन्छन्, ’काम गर्दा असहजता हुन्छ। सधैँ आफूले सोचेअनुसार परिस्थिति हुँदैन। तर, म अप्ठ्यारोमा कहिल्यै आत्तिइनँ। त्यसकै परिणाम आज ६ जनालाई रोजगारी दिएर काम गरिरहेको छु। आफ्नो पेसाबाट अहिले म सन्तुष्ट छु।’

व्यक्तिगत संघर्षबाट उद्यमशीलताको यात्रा

चन्दको संघर्ष कथा केवल कन्सल्टेन्सी व्यवसायको मात्र होइन, यो एउटा सामान्य युवाले काठमाडौंमा आएर आफ्नो स्थान बनाउनका लागि गरेको ठूलो दुःखको निरन्तरता पनि हो।

काठमाडौं आउँदा हातमा १५ हजार रुपैयाँ, केही वर्षपछि चार लाख रुपैयाँ ऋण–सापटी जुटाएर आफ्नै व्यवसाय, बीचमा कोरोना महामारीले निम्त्याएको आर्थिक जोखिम र तीव्र प्रतिस्पर्धालाई चिरेर आज उनी आफ्नो स्थान बनाउन सफल भएका छन्।

‘मैंले संघर्षबाट सिकेको ठूलो कुरा अवसर आफैँ सिर्जना गर्नुपर्छ भन्ने हो। हाम्रा लागि अवसर सिर्जना हुँदैनन्। हामीले जति संघर्ष र दुःख गर्दै योजनावद्ध ढंगबाट काम ग¥यौं, त्यत्ति नै अवसर सिर्जना हुन्छन्,’ उनी भन्छन्।

आज उनी आफ्नो व्यवसायलाई अझ व्यवस्थित र व्यावसायिक बनाउँदै लगिरहेका छन्। एक दशकभन्दा बढी समय एउटै क्षेत्रमा काम गर्दा बनेको सम्बन्ध, अनुभव र विश्वासलाई उनी आफ्नो सबैभन्दा ठूलो पूँजी मान्छन्।

कन्सल्टेन्सी केवल विदेश पठाउने कारखाना मात्र होइन

चन्दको दृष्टिमा शैक्षिक परामर्श व्यवसायलाई केवल ’विदेश पठाउने व्यवसाय’का रूपमा हेर्नु अपूर्ण बुझाइ हो। ’आज नेपाली विद्यार्थी विदेशमा रोजगारीका लागि मात्र जाँदैनन्। उच्च शिक्षा, नयाँ प्रविधि, सीप, अन्तर्राष्ट्रिय अनुभव र विश्व बजारसँग प्रतिस्पर्धा गर्ने क्षमता हासिल गर्न विदेश जानेगर्छन्,’ उनी भन्छन्।

विदेशमा अध्ययन गरेको ज्ञान र सीप लिएर धेरै विद्यार्थी स्वदेश फर्कन्छन्। कतिपयले विदेशमै काम गरेर परिवारलाई आर्थिक सहयोग गर्छन्। विदेशबाट आउने रेमिट्यान्सले नेपाली परिवारको जीवनस्तर र मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको उनको बुझाइ छ।

चन्द भन्छन्, ’नेपाली युवाहरू विदेश गएर पठाएको रेमिट्यान्सले धेरै नेपालीको चुलो बलिरहेको छ। देशमा पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सक्ने अवस्था बन्यो भने युवाहरूले स्वदेशमै अवसर खोज्छन्। तर, अहिलेको अवस्थामा विदेश जाने युवालाई गलत दृष्टिले मात्र हेर्नु उचित हुँदैन।’

उनका अनुसार लागि विदेश जानु अन्तिम लक्ष्य होइन, विदेशबाट अवसर, ज्ञान, सीप र अनुभव लिएर आफ्नो भविष्य निर्माण गर्नु महत्त्वपूर्ण कुरा हो।

सरकारप्रति विरोध होइन, व्यवस्थित नियमनको अपेक्षा

अहिले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन राज्यले नियमनका विषयमा छलफल गरिरहेको छ। चन्द सरकारको नियमनको विरोध गर्दैनन्।

बरु उनी भन्छन्, ’नियमन आवश्यक छ। विद्यार्थीको हितमा हुने नियमन अझ आवश्यक छ। तर, असल र गलत काम गर्ने संस्थाबीच स्पष्ट भिन्नता हुनुपर्छ।’

उनको बुझाइमा राज्यले गलत काम गर्ने संस्थालाई कारबाही गर्नुपर्छ। विद्यार्थीलाई गलत सूचना दिने, तथ्य लुकाउने, झुटो आश्वासन दिने वा आर्थिक स्वार्थका कारण अनुपयुक्त संस्थामा विद्यार्थीलाई जानाजानी पठाउने व्यवसायीमाथि कडा कारबाही हुनुपर्ने चन्दको धारणा छ। तर, इमानदारीपूर्वक सही सूचना दिएर प्रक्रिया अघि बढाउने संस्थालाई पनि एउटै डालोमा हाल्न नहुने उनको भनाइ छ।

परामर्शदाताको जिम्मेवारी कहाँसम्म?

एक परामर्शदाताले विद्यार्थीलाई देश, विश्वविद्यालय, कलेज, पाठ्यक्रम, शुल्क, प्रक्रिया र सम्भावित जोखिमबारे जानकारी दिन सक्छ। तर, विद्यार्थीलाई विश्वविद्यालयले प्रवेश दिने वा नदिने निर्णय परामर्शदाताले गर्दैन।

अफर लेटर जारी गर्ने अधिकार विश्वविद्यालयको हो। भिसा दिने निर्णय सम्बन्धित दूतावास वा अध्यागमन निकायको हो। विदेशी कानुन परिवर्तन गर्ने अधिकार पनि परामर्शदातासँग हुँदैन। विद्यार्थी विदेश पुगेपछि उसको व्यक्तिगत व्यवहारसमेत कन्सल्टेन्सीको प्रत्यक्ष नियन्त्रणमा हुँदैन।

उनी भन्छन्, ’त्यसैले नियमन बनाउँदा एउटा महत्वपूर्ण सिद्धान्त आवश्यक छ– जुन विषय व्यवसायीको नियन्त्रणमा छ, त्यसको जिम्मेवारी व्यवसायीले लिनुपर्छ। जुन विषय उसको नियन्त्रणबाहिर छ, त्यसको दायित्व निर्धारण गर्दा तथ्य, कर्तव्य र नियत पनि हेर्नुपर्छ।’

२५ लाख धरौटी : सुरक्षा कि चुनौती?

शैक्षिक परामर्श क्षेत्रसँग जोडिएका प्रस्तावित व्यवस्थामा ठूलो रकमको धरौटीको विषय पनि चर्चामा छ। चन्दजस्ता साना पुँजीबाट व्यवसाय सुरु गरेका उद्यमीका लागि यस्तो व्यवस्था कति व्यवहारिक हुन्छ भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो।

यसको अर्थ धरौटीको अवधारणा नै गलत हो भन्ने चन्दलाई लाग्दैन। तर, आफू जस्ता साना व्यवसायीलाई पनि राज्यले मध्यनजर गर्दै राज्यले कानुन तर्जुमा गर्नुपर्ने उनको भनाइ छ।

’धरौटी किन आवश्यक छ? यसको उद्देश्य के हो? र, विद्यार्थीको हित सुरक्षित गर्न अझ प्रभावकारी विकल्प छन् कि, छैनन्? जस्ता कुरामा सरले ध्यान दिनुपर्छ,’ उनले भने, ’यदि उद्देश्य विद्यार्थीको रकम र अधिकार सुरक्षित गर्नु हो भने बैंक ग्यारेन्टी, बीमा, संरक्षण कोष वा जोखिमअनुसारको वित्तीय सुरक्षणजस्ता विकल्पमाथि अध्ययन गरेर वैज्ञानिक रुपमा उक्त व्यवस्था गर्दा हुन्छ। तर, सस्तो लोकप्रियताका लागि व्यवसायीलाई कस्ने खेल हो भने यो कसैको हितमा हुँदैन।’

नियमनको उद्देश्य व्यवसायीलाई कमजोर बनाउनु नभइ विद्यार्थीलाई सुरक्षित बनाउँदै व्यवसायलाई जिम्मेवार बनाउनु रहेको कुरा आफूहरूले बुझेको तर त्यसको व्यवहारिकतामा भने ध्यान दिनुपर्ने उनको भनाइ छ।

निष्पक्ष ग्रेडिङ र अनुगमन आवश्यक

कन्सल्टेन्सीको गुणस्तर मापन गर्ने प्रणाली आफैँमा सकारात्मक हुन सक्छ। विद्यार्थी र अभिभावकले कुन संस्था कस्तो छ भनेर बुझ्न पाए उनीहरूलाई निर्णय गर्न सजिलो हुन्छ। तर, ग्रेडिङ पारदर्शी, मापनयोग्य र व्यवहारिक हुनुपर्छ। कार्यालय ठूलो छ भन्दैमा सेवा राम्रो हुन्छ भन्ने छैन। सानो कार्यालयले पनि उत्कृष्ट सेवा दिन सक्छ।

’त्यसैले गुणस्तर मापन गर्दा कार्यालयको आकारभन्दा परामर्शदाताको दक्षता, प्रमाणित सूचना, पारदर्शिता, विद्यार्थीको गोपनीयता, अभिलेख व्यवस्थापन, पेसागत आचारसंहिता, कर्मचारीको क्षमता, विद्यार्थी गुनासो व्यवस्थापनलगायतका विषय हेर्नुपर्दछ,’ उनले भने।

विद्यार्थी र अभिभावकमा सचेतना आवश्यक

विद्यार्थीलाई मात्र परामर्शदाताको जिम्मामा छाडेर अभिभावक बेखवर बन्न नहुने उनको तर्क छ। विद्यार्थीसँगै अभिभावले पनि विशेष चासो दिनुपर्ने चन्द बताउँछन्। ’विद्यार्थी र अभिभावकले विभिन्न प्रश्न गर्नुपर्छ। विभिन्न विकल्पसँग तुलना गर्नुपर्छ। शुल्क, विश्वविद्यालय, पाठ्यक्रम, छात्रवृत्ति, प्रवेश मापदण्ड र भिसासम्बन्धी सूचनाको आधिकारिक स्रोत जाँच गर्नुपर्छ,’ उनी भन्छन्।

उनी अभिभावकहरूलाई पनि ’फलानो देश राम्रो’ वा ’फलानो कलेज राम्रो’ भन्ने अफवाहका भरमा निर्णय नगर्न आग्रह गर्दछन्। विद्यार्थी आफ्नो भविष्यको प्रमुख निर्णयकर्ता भएकाले कन्सल्टेन्सीको दायीत्व उसको निर्णयलाई सही सूचना र मार्गदर्शन दिने मात्र भएको उनको भनाइ छ।

जिम्मेवारीसहितको व्यवसाय

कन्सल्टेन्सी त झन जिम्मेवार सहित व्यवसाय भएको चन्दको बुझाइ छ। थुप्रै परिवारको भविश्य जोडिएको हुने भएकाले यो जिम्मेवारसहितको व्यवसाय भएको उनी बताउँछन्। ‘कन्सल्टेन्सी सञ्चालन गर्न कार्यालय, कर्मचारी, प्रविधि, तालिम, पूर्वाधार र आर्थिक स्रोत आवश्यक हुन्छ। त्यसैले व्यवसायले आम्दानी गर्नु स्वाभाविक हो। समस्या त्यतिबेला सुरु हुन्छ, जब आर्थिक लाभ विद्यार्थीको हितभन्दा माथि राखिन्छ।’

उनी कमिसनको लोभमा विद्यार्थीका लागि अनुपयुक्त विश्वविद्यालय वा पाठ्यक्रमलाई उपयुक्त भनेर प्रस्तुत गर्नु गलत हुने र केही व्यक्तिले गरेको यस्तो बदमासीका कारण राम्रो काम गर्ने व्यवसायी पनि मारमा परिरहेको बताउँछन्।

’त्यसैले अबको नियमनमा केवल धरौटी र पूर्वाधारभन्दा पनि पेसागत आचारसंहिता, पारदर्शिता, स्वार्थको द्वन्द्वको खुलासा, प्रमाणित सूचना र प्रभावकारी अनुगमन महत्वपूर्ण हुन सक्छ,’ उनी भन्छन्।

उनले यो संघर्षको कथा आफ्नो वा एउटा कन्सल्टेन्सीको मात्र नभएर अवसर खोज्दै एक दशकदेखि काठमाडौंमा संघर्ष गरिरहेका हजारौं युवाको भएको बताएका छन्। आगामी दिनमा पनि व्यवसायीक प्रतिवद्धतामा कुनै आच आउन नदिने गरी सेवामा सक्रिय रहने चन्दको भनाइ छ।