चीनबाट उत्पादन सार्दै गुगल, २०२७ देखि पिक्सेलका सबै उत्पादन अन्य देशमा बनाउने

अन्तराष्ट्रिय विज्ञान तथा सूचना प्रविधि

काठमाडौं । गुगलले सन् २०२७ देखि पिक्सेल स्मार्टफोन, स्मार्टवाच र वायरलेस इयरबडलगायत सबै उत्पादन चीनबाहिर उत्पादन गर्ने तयारी गरेको छ। अमेरिका र चीनबीचको निरन्तर तनावका बीच चीनमा रहेको उत्पादन निर्भरता घटाउन गुगलले यस्तो योजना अघि बढाएको हो।

निकी एसियाका अनुसार गुगलले आफ्ना आपूर्तिकर्तालाई सन् २०२७ देखि पिक्सेलका सबै उत्पादन चीनबाहिर उत्पादन गर्ने योजना रहेको जानकारी गराएको छ। गुगलले पछिल्ला वर्षमा चीनमाथिको निर्भरता घटाउन भियतनाम र भारतमा उत्पादन क्षमता विस्तार गर्दै आएको छ।

पिक्सेल स्मार्टफोनको उच्चस्तरीय मोडल उत्पादन चीनबाट अन्यत्र सार्ने काम तुलनात्मक रूपमा जटिल भए पनि यस वर्ष भियतनाममा त्यस्तो उत्पादन सफलतापूर्वक विकास र सञ्चालन भएपछि गुगललाई आगामी वर्षदेखि सम्पूर्ण उत्पादन चीनबाहिर सार्ने योजनामा अघि बढ्न विश्वास बढेको स्रोतलाई उद्धृत गर्दै निकी एसियाले जनाएको छ।

गुगलका लागि स्मार्टफोनको तुलनामा स्मार्टवाच र वायरलेस इयरबडको उत्पादन अन्यत्र सार्न तुलनात्मक रूपमा सहज हुने भएकाले यी उत्पादनको चीनबाहिर स्थानान्तरण पनि योजनाअनुसार अघि बढ्ने अपेक्षा गरिएको छ।

गुगलको यो कदमले अमेरिका–चीन व्यापार तथा प्रविधि तनावका कारण विश्वका ठूला प्रविधि कम्पनीहरूले आफ्नो आपूर्ति शृंखला चीनबाट अन्य एसियाली मुलुकतर्फ विविधीकरण गर्ने क्रम थप तीव्र हुने संकेत गरेको छ। भारत र भियतनाम यस्ता कम्पनीका लागि चीनको वैकल्पिक उत्पादन केन्द्रका रूपमा विकसित भइरहेका छन्।