रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

आर्थिक

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीको सीप, अनुभव र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको आधार बनाउनुपर्ने बताएका छन्।

नेपाल–कोरिया उद्यमी व्यवसायी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ढकालले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध कूटनीतिक तथा सांस्कृतिक सम्बन्धमा मात्र सीमित नरही आर्थिक र व्यावसायिक साझेदारीमा विस्तार हुनुपर्ने बताए। कोरियामा काम गरेर फर्किएका हजारौँ नेपाली युवाले हासिल गरेको सीप, अनुभव र पुँजी नेपालको उद्यमशीलता विकासका लागि महत्वपूर्ण सम्पत्ति भएको उनको भनाइ छ।

कोरियाले करिब ६० वर्षको अवधिमा गरिबीबाट औद्योगिक शक्तिका रूपमा गरेको रूपान्तरणबाट नेपालले धेरै कुरा सिक्न सक्ने ढकालले बताए। अनुशासित कार्यसंस्कृति, गुणस्तरमा जोड, प्रविधिको विकास, निर्यातमुखी उत्पादन तथा सरकार र निजी क्षेत्रबीचको समन्वयलाई नेपालमा पनि प्रभावकारी रूपमा लागू गर्नुपर्ने उनले बताए।

रिटर्नी उद्यमीले सिकेको अनुशासन र उत्पादकत्वमा आधारित कार्यसंस्कृति स्वदेशी उद्योगमा लागू गर्न सके नेपालको औद्योगिक चरित्रमा नै परिवर्तन ल्याउन सकिने उनले उल्लेख गरे।

जलविद्युत, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि तथा साना–मझौला उत्पादनमूलक क्षेत्रमा नेपालमा ठूलो लगानी सम्भावना रहेको बताउँदै ढकालले भारत र चीनसँगको भौगोलिक निकटता तथा सुधार हुँदै गएको लगानी वातावरणलाई अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।

देशभर छरिएर रहेको सानो पुँजीलाई एकीकृत गरी ठूला आयोजनामा लगानी गर्ने उद्देश्यले १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी दिँदै उनले नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नीका लागि कम्पनीले लगानी साझेदारको भूमिका निर्वाह गर्न सक्ने बताए। सानो पुँजी भएका लगानीकर्ताले नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत पनि लगानी गर्न सक्ने उनले बताए।

रिटर्नी उद्यमी–व्यवसायीसँग रहेको प्राविधिक सीप, कार्यसंस्कृति र आर्थिक अनुशासन नेपालको उद्योग क्षेत्रका लागि महत्वपूर्ण रहेको ढकालले बताए। स्वदेशमा उद्यम स्थापना गर्दा देखिने कानुनी तथा प्रक्रियागत अवरोध सरकार, निजी क्षेत्र र सरोकारवालाबीचको निरन्तर संवादबाट समाधान गर्न सकिने उनले बताए।

रिटर्नी उद्यमीको सीप र लगानीबाट स्वदेशमै उत्पादन तथा रोजगारी सिर्जना गर्दै समृद्धिको नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गर्दै ढकालले एफएनसीसीआई र आइएमई ग्रुपका तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत, दूतावासका कर्मचारी, नेपाल सरकारका प्रतिनिधि, रिटर्नी माइग्रेन्ट तथा विभिन्न क्षेत्रका उद्यमी–व्यवसायीको उपस्थिति थियो।