शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

Headlines राजनीति

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई समूहको नेतृत्वमा अघि सारेको छ । काठमाडौंमा जारी राष्ट्रिय सम्मेलनबाट कोइरालालाई इतरसमूहको नेतृत्व गर्दै आगामी १५औँ महाधिवेशनका लागि आवश्यक गतिविधि समन्वय गर्ने जिम्मेवारी दिइएको हो ।

सम्मेलनले पारित गरेको पाँचबुँदे प्रस्तावको पहिलो बुँदामै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने उल्लेख गरिएको छ । प्रस्तावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमै १५औँ महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ ।

प्रस्तावमा भनिएको छ, ‘१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गरिनेछ र श्री शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ । उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलन व्यक्त गर्दछ ।’

त्यस्तै, १५औँ महाधिवेशनसम्म पार्टीका आवश्यक नियमित गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले समन्वय गर्दै अघि बढाउने प्रस्तावमा उल्लेख छ । यही निर्णयअनुसार राष्ट्रिय सम्मेलनका संयोजकसमेत रहेका डा. कोइरालालाई महाधिवेशनसँग सम्बन्धित गतिविधि अघि बढाउने महत्वपूर्ण जिम्मेवारी दिइएको हो ।

यसअघि कांग्रेसको संस्थापनइतर समूहको नेतृत्व कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले गर्दै आएका थिए । पछिल्लो समय इतरसमूहभित्र आगामी महाधिवेशनमा कसको नेतृत्वमा जाने भन्ने विषयमा छलफल चल्दै आएको थियो । राष्ट्रिय सम्मेलनमार्फत शशांक कोइरालालाई अघि सारिएसँगै समूहको नेतृत्वसम्बन्धी अन्योल पनि केही हदसम्म अन्त्य भएको देखिएको छ ।

राष्ट्रिय सम्मेलनमा देशभरबाट आएका प्रतिनिधिहरू सहभागी छन् । सम्मेलनमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफलसमेत भएको छ ।

कांग्रेसको संस्थापनइतर समूहले १५औँ महाधिवेशनलाई पार्टी एकताको महाधिवेशन बनाउने बताउँदै आएको छ । पार्टीभित्र संस्थापन र संस्थापनइतर पक्षबीच महाधिवेशनको प्रक्रिया, नेतृत्व तथा संगठनात्मक संरचनाका विषयमा मतभेद कायमै रहेकाले पछिल्लो निर्णयलाई कांग्रेसको आन्तरिक शक्ति सन्तुलनका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ ।