NIMB Case मा राष्ट्र बैंकको Assure: बैंकको Liquidity र Financial Health ‘सन्तोषजनक’

Headlines बैंक/वित्त

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाले बैंकको नियमित कारोबारमा तत्काल कुनै असर नपर्ने नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ।

स्मार्ट टेलिकमको ऋण असुलीका लागि बैंकले गरेको धितो लिलामीसम्बन्धी विषयमा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएपछि राष्ट्र बैंकले बैंकको वित्तीय अवस्था र सञ्चालनबारे धारणा सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले विज्ञप्तिमार्फत बैंकको सञ्चालन तथा व्यवस्थापनलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ। बैंकको तरलता अवस्था तथा वित्तीय सबलतासम्बन्धी सूचकहरू राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार सन्तोषजनक रहेको भन्दै हाल बैंकको दैनिक कार्यसञ्चालनमा कुनै जटिलता उत्पन्न हुने अवस्था नदेखिएको जनाएको हो।

अदालतमा मुद्दा विचाराधीन रहेकै कारण बैंकको नियमित कारोबार प्रभावित हुने अवस्था नरहेको राष्ट्र बैंकको भनाइ छ। यद्यपि, मुद्दाको प्रकृति, समयावधि र गम्भीरताका आधारमा बैंकसँग थप छलफल गर्नुका साथै आवश्यक कानुनी राय लिने काम भइरहेको केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकले प्रचलित कानुनी व्यवस्थाअनुसार बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनसँग सम्बन्धित आवश्यक उपाय अवलम्बन गरिने पनि स्पष्ट पारेको छ।