काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ।
बैंकले विगतका साधारणसभाबाट पारित भए बमोजिम गत आर्थिक वर्षसम्ममा पाँच वर्ष अवधि नाघेको तर सम्बन्धित शेयरधनीले नलिएको नगद लाभांश बाँकी रहेको हुँदा काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमा सम्पर्क गर्न आह्वान गरेको हो। अन्यथा त्यस्तो बाँकी नगद लाभांश प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा भइजाने पनि बैंकले स्पष्ट पारेको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.६९ प्रतिशतले बढेको हो।

बैंकले गत असार मसान्तसम्म ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ६० करोड ६६ लाख रुपैयाँ रहेको थियो।
यससँगै बैंकको प्रति सेयर आम्दानी (EPS) र वितरणयोग्य नाफा समेत अघिल्लो आर्थिक वर्षको तुलनामा सुधारिएको वित्तीय विवरणमा उल्लेख छ।
बैंकले ग्राहकबाट सङ्कलन गरिएको निक्षेप ५४ अर्ब ८६ करोड रुपैयाँबाट बढेर ५६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा ४२ अर्ब ८२ करोड रुपैयाँबाट बढेर ४५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष ५.५२ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा गत वर्ष बढेर ६.८७ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३.८३ रुपैयाँ र प्रतिसेयर नटवर्थ १६९.५० रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म बैंकको लगानीकर्ताहरूलाई वितरण गर्न मिल्ने नाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्ष ३६ करोड ८३ लाख रुपैयाँ थियो। बैंकको विद्यमान चुक्ता पूँजी (३.७३ अर्ब रुपैयाँ) का आधारमा सेयरधनीहरूलाई १३.१९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ । अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १० रुपैयाँ ३६ पैसा थियो ।


