‘छिमेकी चिड्याएर बालेन सरकार देशलाई खतरमा पार्दैछ’

राजनीति

काठमाडौं । रामराज्य परिषदले वर्तमान सरकारले ‘एक चीन नीति’लाई भंग गरेको आरोप लगाएको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी दुर्गा प्रसाई र धवल शमशेर राणाको दर्शनविहिन पार्टीले लक्ष्य हासिल गर्न नसक्ेन ठोकुवासमेत गरेको छ ।

रामराजय परिषदका धर्माध्यक्ष जगतबहादुर थापाले नेपालको स्वाधीनता र सार्बभौमिकताको रक्षाका लागि ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहन सचेत गराएका छन् । बालेन सरकारले तिब्बतीयनलाई नागरिकता, दलाई लामाको जन्म उत्सव, फ्री तिब्बत सम्मेलन लगायतका गतिविधिले ठूलो प्रश्न उब्जाएको थापाको कथन छ ।

दुर्गा प्रसाई र धवल शमशेर राणाद्वारा प्रस्तावित ‘जय नेपाल पार्टी’मा एकताको सम्भावना बारेको प्रश्नमा अध्यक्ष थापाले भने, ‘उहाँहरुको दर्शनविहिन पार्टी ‘कुहिरोभित्र काग’ हुने निश्चित छ, एकताको सम्भाव नै छैन ।’ ‘राजसंस्था र हिन्दु राज्य’ भोट बटुल्ने राजनीतिक अस्त्रः मात्रै रहेको अध्यक्ष थापाले आरोप छ ।

राजसंस्थासहितको हिन्दु राज्यको एउटै मुद्धा बोकेकाहरु विभाजित किन भन्ने प्रश्नमा थपाले भने, ‘अरु सबै यही संसदीय व्यवस्थाभित्र जनतालाई भ्रमित पार्दै, एजेण्डालाई केबल सत्तामा पुग्ने भर्याङ बनाएका हुन् ।’

वैदिक र वैज्ञानिक सम्यवादी दर्शनबाट मार्गदर्शीत आफूहरुको रामराज्य परिषद्को नेतृत्वमा मात्रै ‘हिन्दु राष्ट्र र हिन्दु सम्राट’ भएको ‘रामराज्य’ अवसंभ्यवी रहेको थापाको जिकिर छ ।

थापाले बालेन सरकारले स्वास्थ्य, शिक्षा, विद्युतलगायतका जनताका आधाभूत आवश्यकताहरुमाथि पनि कर लगाएर जनताको दैनिकी कष्टकर बनाएको आरोप लगाए । अहिले ५२ थरिका विभिन्न कर शिर्षकहरुमार्फत जनतामाथि ४४ प्रतिशतसम्म कर अशुल्ने तर सेवासुविधा नदिने रवैया उचित नभएको बताउँदै, त्यसलाई १० प्रतिशतमा सीमित गर्न थापाले माग गरे । उनले बालेन सरकारलाई ‘अल्लारे’ सरकारको संज्ञा दिदै छिमेकी चिड्याएर ७ समुन्द्र पारको अमेरिकाको योजनामा काम गरिरहेकोसमेत आरोप लगाए ।

‘प्रधानमन्त्रीजीले संसदमै राष्ट्रघाति अभिव्यक्ति दिनुहुन्छ, खुलेआम फ्रि तिब्बत मुभमेन्टलाई बढावा दिइन्छ, रोहिङ्गा, बंगालीलाई भित्राएर तराईमा द्वन्द सिर्जन गराउने सरकारको चरित्र उदाङगो भइसक्यो’, थापाले थपे ।

परिषदका सचिव विष्णु डंगोलले नेपालको स्वधीनताको रक्षाका लागि विदेशी योजनामा ल्याईको राष्ट्रिय परिचय पत्रको खारेजी, विदेशीलाई दिइएको नेपाली नागरिकतामाथि छानविन र विदेशीलाई नागरिकता वितरण रोक्नुपर्ने, खुल्ला सीमानामा काँडेतार लगाउनुपर्ने लगायतका माग राखे ।

कोषाध्यक्ष रमेश कुमार बस्नेतले वर्तमान व्यवस्थाबाट देश नजोगिने भएको जिकिर गर्दै, त्यसको विकल्पमा आफूहरुले ‘रामराज्य व्यवस्था’को घोषण गरेको जनाए । उनले रामराज्यमा कर मुक्त, भिखारी मुक्त, आत्मनिर्भर अर्थतन्त्रसहितको समृद्ध नेपाल हुने दाबी गरे ।

केन्द्रीय सदस्य संकर मगैयाले देशमा व्यापक रोजगारीको व्यवस्था गरी वैदेशीक रोजगर बन्द, शान्ति क्षेत्र नेपाल, ग्रेटर नेपाल, इण्डियन हस्तक्षेप हटाउन इण्डियन उत्पादित सामान वहिस्कार गर्नुपर्ने धारणा राखे ।

केन्द्रीय समिति सदस्य सिताराम महर्जनले देशको रक्षा गर्न नेपाली सेनालाई बलियो बनाउनुपर्ने धारणा राखे ।

‘नेपाली सेनाको संख्या बढाएर ५ लाख बनाउने, २० लाख अर्धशैनीक बल र घरघरमा ३ महिने सैनिक तालिमको व्यवस्था गर्नुपर्छ ता कि आवश्यक परे प्रतिवाद गर्न सकियोस,’ महर्जनले भने ।

केन्द्रीय सदस्य मदन खड्काले देशको प्रकृतिक सम्पदामाथि विदेशीको हस्तक्षेप बढेको भन्दै, आफूहरुको व्यवस्थामा खनिज सम्पदा उत्खनन गरी देशलाई समृद्ध बनाउने दाबी गरे ।

काठमाडौं जिल्ला अध्यक्ष केशव प्रसाद पाण्डेले राष्ट्रि स्वाधीनता जोगाउन राष्ट्रिय मुक्ति लडाई लड्नुपर्ने धारणा राखे ।