Strong Earnings, Rising Risk: महालक्ष्मी विकास बैंकको Q4 Snapshot

बैंक/वित्त

काठमाडौं । राष्ट्रियस्तरको विकास बैंक महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले खुद नाफा, खुद ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानी र सञ्चालन मुनाफामा उल्लेख्य सुधार गरेको छ। यद्यपि, खराब कर्जा (एनपीएल) भने बढेको देखिएको छ।

बैंकले समीक्षा अवधिमा ६२ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ४२ करोड ४३ लाख रुपैयाँको तुलनामा ४८.४६ प्रतिशत बढी हो। बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानीमा भएको वृद्धि तथा कर्जा नोक्सानी व्यवस्था (Impairment Charge) घट्नु प्रमुख कारण बनेको देखिन्छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.६९ प्रतिशतले बढेर २ अर्ब १४ करोड ८७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ९४ करोड १२ लाख रुपैयाँ थियो।

यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी पनि सुधारिएको छ। अघिल्लो वर्ष २० करोड ६५ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर २३ करोड ४ लाख रुपैयाँ पुगेको छ।

आम्दानीमा भएको सुधारसँगै बैंकको कुल सञ्चालन आम्दानी ९.५४ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब २७ करोड १८ लाख रुपैयाँ रहेको थियो।

यसैबीच, बैंकको सञ्चालन मुनाफामा अझ प्रभावशाली वृद्धि देखिएको छ। अघिल्लो वर्षको ६१ करोड १४ लाख रुपैयाँबाट बढेर सञ्चालन मुनाफा ९३ करोड ७९ लाख रुपैयाँ पुगेको छ, जुन ५३.४१ प्रतिशतको वार्षिक वृद्धि हो। बैंकको आम्दानी बढ्नु र सञ्चालन खर्चको तुलनात्मक नियन्त्रणले सञ्चालन मुनाफा बलियो बनाउन सहयोग गरेको देखिन्छ।

महालक्ष्मी विकास बैंकको कर्जा नोक्सानी व्यवस्था उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्षमा ५१ करोड ७३ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष घटेर ३१ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ।

कर्जा नोक्सानी व्यवस्थामा आएको कमीले बैंकको नाफा सुधारमा सकारात्मक प्रभाव पारेको देखिन्छ। यद्यपि, बैंकको खराब कर्जा अनुपात भने बढेको छ।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) अघिल्लो वर्षको ४.९८ प्रतिशतबाट बढेर ६.३२ प्रतिशत पुगेको छ। आम्दानी र नाफामा सुधार भए पनि कर्जाको गुणस्तर व्यवस्थापन बैंकका लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ।

वितरणयोग्य मुनाफा ४६ करोड ५२ लाख

बैंकले शेयरधनीलाई वितरण गर्न सक्ने मुनाफा पनि बढाएको छ। अघिल्लो वर्ष ४४ करोड ५६ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा गत वर्ष बढेर ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

तर लाभांश क्षमता भने सामान्य घटेको छ। अघिल्लो वर्ष १०.३७ प्रतिशत रहेको लाभांश क्षमता समीक्षा अवधिमा १०.३१ प्रतिशत कायम भएको छ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि सुधार भएको छ। अघिल्लो वर्ष ९ रुपैयाँ ८८ पैसा रहेको ईपीएस गत वर्ष बढेर १३ रुपैयाँ ९६ पैसा पुगेको छ।

महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी बढेको छ। बैंकको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। बैंकको जगेडा कोषमा २ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी सञ्चिति रहेको छ।

समीक्षा अवधिमा बैंकले कर्जा विस्तार गरेको छ। ग्राहकलाई प्रवाह गरिएको कर्जा ४१ अर्ब ५१ करोड रुपैयाँबाट बढेर ४३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

तर निक्षेप भने सामान्य घटेको छ। अघिल्लो वर्ष ५५ अर्ब ११ करोड रुपैयाँ रहेको निक्षेप गत वर्ष घटेर ५५ अर्ब १ करोड रुपैयाँमा सीमित भएको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ४२ पैसा कायम भएको छ। त्यस्तै तरलता अनुपात २७.३५ प्रतिशत, मूल्य आम्दानी अनुपात (पीई रेसियो) २४.७८ गुणा र इक्विटीमा प्रतिफल (आरओई) ८.६६ प्रतिशत रहेको छ।

बैंकको आधार दर पनि घटेको छ। अघिल्लो वर्ष ६.९४ प्रतिशत रहेको आधार दर समीक्षा अवधिमा घटेर ५.६६ प्रतिशतमा आएको छ।