The Himalayan Legend Falls: निम्स दाइलाई श्रद्धाञ्जली!

Sticky News समाचार

काठमाडौं । पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा परेर विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जाको निधन भएको पुष्टि भएको छ। दुर्घटनामा उनको नेतृत्वमा रहेको आरोहण टोलीका सबै सदस्यको ज्यान गएको आरोहण कम्पनी एलाइट एक्स्पेड ले जनाएको छ।

शनिबार दिउँसो कम्पनीले शोक वक्तव्य जारी गर्दै पुर्जासँगै उनका सहकर्मी तथा अनुभवी गाइड पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पालगायत टोलीका अन्य सदस्यहरूको पनि निधन भएको पुष्टि गरेको हो।

कम्पनीले वक्तव्यमा भनेको छ, “आज हामीले निम्सलाई मात्र होइन, यस दुःखद दुर्घटनामा ज्यान गुमाउने हाम्रा विश्वासिला आरोहण साथीहरू र गाइडहरू पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पालगायत सबैलाई गुमाएका छौँ। यस अकल्पनीय क्षतिको घडीमा शोकसन्तप्त परिवार र आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।”

बिहीबार बिहान करिब ९ बजे पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ठूलो हिमपहिरो जाँदा निर्मल पुर्जासहित १० सदस्यीय आरोहण टोली सम्पर्कविहीन भएको थियो। त्यसयता जारी खोजी तथा उद्धार प्रयासबीच शनिबार टोलीका सबै सदस्यको निधन भएको पुष्टि गरिएको हो।