बासुदेव घिमिरेको माग : कोइलाबास नाका स्तरोन्नति र एकीकृत पर्यटन योजना ल्याउन आग्रह

राजनीति

काठमाडौँ । राष्ट्रिय सभा सदस्य बासुदेव घिमिरेले ऐतिहासिक कोइलाबास भन्सार नाकाको स्तरोन्नति तथा एकीकृत धार्मिक पर्यटन विकास योजना ल्याउन सरकारसँग जोडदार माग गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद घिमिरेले देशमा सामाजिक सद्भाव कायम राख्न अपिल गर्दै लुम्बिनी प्रदेशका विविध समस्या र विकासका सम्भावनाबारे सदनको ध्यानाकर्षण गराएका हुन्

‘नेपाल नै नरहे हामी कहाँ रहौँलारु आज मुलुक संकटपूर्ण अवस्थामा छ र साम्प्रदायिक दंगा फैलिरहेको छ’ सद्भाव कायम राख्न सबै नागरिकलाई आग्रह गर्दै उनले भने, ‘यस्तो घडीमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आ–आफ्नो क्षेत्रबाट सामाजिक सद्भाव र एकता कायम राख्न हार्दिक अनुरोध गर्दछु ।’

लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै सांसद घिमिरेले पूर्वकालदेखि व्यापारिक केन्द्रका रूपमा रहेको देउखुरी उपत्यकास्थित कोइलाबास नाका हाल सुनसान बनेकामा चिन्ता व्यक्त गरे । लमहीदेखि कोइलाबाससम्मको सडक कालोपत्रे भइसकेको उल्लेख गर्दै उनले उक्त नाकालाई पुनर्जीवित गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीको निकट भविष्यमा हुने भारत भ्रमणका सन्दर्भमा बोल्दै उनले कोयलाबास र भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लाको जरुवा भन्सारको स्तरउन्नतिलाई भ्रमणको प्रमुख एजेन्डा बनाउन माग गरे । ‘हाल जरुवा भन्सारबाट २५ हजार रुपैयाँसम्मको मात्रै सामान आयात–निर्यात गर्न पाउने सीमा छ,’ उनले भने, ‘यसलाई बढाएर लाखौँ रुपैयाँको व्यापार गर्न पाउने गरी भन्सारको स्तरोन्नति गर्न सरकारले पहल गरोस् ।’

यसैगरी, भारतीय निजी गाडीहरू सजिलै भन्सार पास लिएर नेपाल आउन पाउने तर नेपाली सवारी साधन भारत प्रवेश गर्दा ठूलो सास्ती खेप्नुपरेको बताउँदै उनले नेपाली तीर्थयात्री तथा बिरामी बोकेका निजी गाडीहरूलाई पनि भारत प्रवेशमा सहज पासको व्यवस्था मिलाउन द्विपक्षीय एजेन्डा बनाउन आग्रह गरे ।

सरकारको नीति तथा कार्यक्रममा उल्लेखित ‘नेपाललाई तपोभूमि बनाउने’ राष्ट्रिय अभियानतर्फ संकेत गर्दै सांसद घिमिरेले लुम्बिनी प्रदेशका प्रमुख धार्मिक स्थलहरूलाई जोडेर एकीकृत योजना ल्याउन प्रस्ताव गरे । उनले लुम्बिनी बौद्ध शान्ति क्षेत्र, प्युठानको स्वर्गद्वारी, दाङ धारापानीस्थित पाण्डेश्वर महादेव, पाल्पाको भैरवनाथ, बर्दियाका धार्मिक स्थल र बाँकेको बागेश्वरी मन्दिरलाई समेटेर विशेष पर्यटन परिपथ ९टुरिजम सर्किट० बनाउनुपर्नेमा जोड दिए ।

द्वापर युगमा पाण्डवहरू महाभारत युद्धपश्चात् नेपाल आउने क्रममा देउखुरीको राजपुरस्थित भीमबाग, रियाड, तेङ्गेली हुँदै धारापानी ९ढाड बानी० पुगेर तपस्या गरी पाण्डेश्वर लिङ्ग स्थापना गरेको धार्मिक इतिहास स्मरण गराउँदै उनले यसको संरक्षण र प्रवद्र्धनको माग गरे ।

‘पशुपति क्षेत्र विकास कोष वा लुम्बिनी विकास कोष जस्तै धारापानी (ढाड बानी) क्षेत्रको विकासका लागि पनि ‘धारापानी विकास कोष’ स्थापना गरियोस्,’ उनले भने । स्थानीय गणेश अधिकारीको अध्यक्षतामा गठित समितिले निजी स्तरबाट यसको स्तरोन्नति गरे पनि सरकारका तर्फबाट अनुदान र प्रोत्साहन नपाएकोमा उनले ध्यानाकर्षण गराए ।

साथै, देउखुरी उपत्यकाबाट स्वर्गद्वारीसम्म केवलकार सञ्चालनको व्यवस्था गर्न र लुम्बिनी प्रदेश सरकारले ल्याएको पर्यटन गुरुयोजना कार्यान्वयनका लागि सङ्घीय सरकारले आवश्यक अनुदान तथा सहयोग उपलब्ध गराउनुपर्ने उनको माग थियो ।

सांसद घिमिरेले दाङको तुलसीपुरस्थित ग्रेट अरनिको उच्च माध्यमिक विद्यालयका विद्यार्थी नयन ओलीमाथि घट्टे खोलामा अज्ञात समूहद्वारा भएको खुकुरी प्रहारको निन्दा गरे । घाइते विद्यार्थीको तत्काल निःशुल्क उपचार र दोषीमाथि कडा कारबाहीको माग उनले गरे ।