काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीसहित मधेशका केही जिल्लामा पछिल्लो समय देखिएको तनाव र त्यसको समाधानका उपायबारे विचारविमर्श भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के. शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत मधेशका विभिन्न राजनीतिक दलका नेताहरू सहभागी छन्।

प्रधानमन्त्री शाहले मधेश क्षेत्रमा देखिएको तनाव संवाद र समन्वयमार्फत समाधान गर्ने उद्देश्यले राजनीतिक नेतृत्वसँग परामर्श थालेको जनाइएको छ।
यसअघि बिहीबार प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको थियो। भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था, शान्ति–सुरक्षा तथा राष्ट्रिय चासोका विषयमा छलफल भएको थियो।
लगातार भएका यी राजनीतिक भेटघाटलाई मधेश केन्द्रित पछिल्लो परिस्थितिको समाधान खोज्ने सरकारी प्रयासका रूपमा हेरिएको छ।

