कुवेत आक्रमणमा परी एक नेपालीको मृत्यु

Sticky News अन्तराष्ट्रिय

उत्तरी कुवेतमा भएको एक आक्रमणमा परी एक निर्दोष नेपाली नागरिकको दुःखद निधन भएकोप्रति नेपाल सरकार परराष्ट्र मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ।

मन्त्रालयले बिहीबार (३० जुलाई २०२६) एक प्रेस विज्ञप्ति जारी गर्दै सर्वसाधारण नागरिकमाथि भएको यस्तो अन्धाधुन्ध आक्रमणको स्पष्ट र कडा शब्दमा भर्त्सना गरेको छ।

विज्ञप्तिमा परराष्ट्र मन्त्रालयले सम्बन्धित सबै पक्षलाई वार्ता र कूटनीतिक माध्यमबाट समाधान खोज्न, अधिकतम संयमता अपनाउन तथा अन्तर्राष्ट्रिय कानुनबमोजिम सर्वसाधारण र नागरिक पूर्वाधारको सुरक्षा एवं संरक्षण सुनिश्चित गर्न आग्रह गरेको छ।

त्यस्तै, मन्त्रालयले जुनसुकै परिस्थितिमा पनि जेनेभा महासन्धि (Geneva Conventions) र अन्तर्राष्ट्रिय मानवीय कानुनका लागू हुने नियमहरूको पूर्ण सम्मान र कडाइका साथ पालना हुनुपर्नेमा जोड दिएको छ।

परराष्ट्र मन्त्रालयले मृतकका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, मृतकको पार्थिव शरीरलाई यथाशक्य छिटो स्वदेश फर्काउन सहज बनाउने लगायतका आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेकोसमेत पुनः स्पष्ट पारेको छ।