काठमाडौं महानगरसँग ऊर्जा मन्त्रालयको सहकार्य प्रस्ताव, सौर्य ऊर्जा र ‘वेस्ट टु इनर्जी’ परियोजनामा जोड

समाचार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य विस्तार गर्दै सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनसँग सम्बन्धित विभिन्न कार्यक्रम संयुक्त रूपमा अघि बढाउने प्रस्ताव गरेका छन् ।

बिहीबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलसँग ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले महानगर क्षेत्रमा भूमिगत पानी पुनर्भरण (ग्राउन्ड वाटर रिचार्ज) प्रणाली, सौर्य सडक बत्तीको विस्तार र व्यवस्थापनका साथै सम्पदा क्षेत्रमा सम्पदा मैत्री विद्युतीकरणको नमुना विकास तथा फोहोर व्यवस्थापनसँगै ऊर्जा उत्पादन गर्ने ‘वेस्ट टु इनर्जी’ परियोजनामा सहकार्य गर्न प्रस्ताव गरेका हुन् ।

उनले ती कार्यक्रमहरू कार्यान्वयनका लागि ऊर्जा मन्त्रालय र काठमाडौं महानगरबिच संस्थागत समन्वय आवश्यक रहेको उल्लेख गर्दै संयुक्त प्रयासबाट सहरी सेवा प्रवाहलाई थप प्रभावकारी र दिगो बनाउन सकिने धारणा राखे ।

छलफलका क्रममा मेयर डंगोलले मन्त्री श्रेष्ठको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै महानगरपालिकाले सम्बन्धित विषयमा आन्तरिक तयारी गरी विस्तृत कार्य योजनासहित मन्त्रालयमा प्रस्ताव पेस गर्ने बताइन् ।

छलफलमा काठमाडौं महानगरको दिगो सहरी विकास, स्वच्छ ऊर्जा प्रवद्र्धन, वातावरण संरक्षण तथा आधुनिक पूर्वाधार निर्माणका क्षेत्रमा दुवै निकायबिच सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने विषयमा सहकार्य गर्ने सहमति भएको छ ।