काठमाडौं । मानव बेचबिखनका स्वरूप बदलिँदै गएका छन् । परम्परागत रूपमा महिला तथा बालबालिका बेचबिखनका घटना बढी देखिने गरेपनि पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन, सामाजिक सञ्जालको दुरुपयोग र साइबर स्क्यामिङमार्फत पुरुषसमेत पीडित बन्न थालेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१÷८२ को तुलनामा २०८२/८३ मा मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ताको संख्या उल्लेख्य रूपमा बढेको छ ।
ब्यूरोका प्रवक्ता राजन लिम्बुका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा ब्यूरोमा ४४ वटा मुद्दा दर्ता भएका थिए भने २०८२÷८३ मा यो संख्या करिब दोब्बर हुँदै ८२ पुगेको छ ।


‘मानव ब्यूरो बबरमहलमा मुद्दा दर्ताको संख्यामा हेर्ने हो भने, ०८१।८२ भन्दा ०८२।८३ मा मुद्दा दर्ताको संख्या वृद्धि भएको छ । तुलनात्मक रूपमा हेर्ने हो भने मुद्दा अनुसन्धान र उद्धारको पाटो पनि ०८२।८३ मा अलि बढी छ । ०८१।८२ मा ४४ वटा मुद्दा दर्ता गरेका थियौँ । यसमा आन्तरिक पनि समेटिएका छन् । ह्युमन ट्राफिकिङ, अर्थात् देशभित्र हुने बेचबिखनका घटनामा विशेषगरी माइनर केसहरू–स्पा, मसाज सेन्टर, रेस्टुरेन्टहरूमा अवाञ्छित क्रियाकलाप अथवा अन्य किसिमको शोषणको कार्यमा लागेको अवस्थामा उद्धार गरेका छौँ । विभिन्न संघसंस्थासँग समन्वय गरेर वा उनीहरूबाट जाहेरी लिएर सम्बन्धित सञ्चालकहरूविरुद्ध मुद्दा दर्ता गरेका छौँ । त्यस्तै, बाहिरको हकमा विभिन्न भारत, मिडिल इस्टमा बेचबिखन, कुवेत, इराकलगायतमा बेचबिखन अथवा तस्करीका घटना तथा युरोप र अमेरिकाको हकमा पनि मुद्दा दर्ता भएको अवस्था छ । ०८१–८२ मा ४४ वटा भएकोमा ०८२–८३ मा यसको संख्या लगभग दोब्बर मुद्दा दर्ता गरेर अनुसन्धान गरेका छौँ,’ लिम्बुले भने ।
उनका अनुसार ब्यूरोले हेर्ने मुद्दामा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै प्रकृतिका घटना रहेका छन् । देशभित्र हुने मानव बेचबिखनका घटनामा विशेषगरी बालिकालाई विभिन्न प्रलोभन देखाएर काठमाडौं उपत्यका तथा अन्य सहरका स्पा, मसाज सेन्टर, खाजाघर तथा मनोरञ्जन क्षेत्रमा शोषण गर्ने घटना देखिएका छन् ।
प्रलोभन देखाएर सहर ल्याइने बालिका जोखिममा
ब्यूरोका अनुसार आन्तरिक बेचबिखनका घटनामा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोटलगायत उपत्यका आसपासका जिल्लाबाट बालिकाहरूलाई विभिन्न माध्यमबाट काठमाडौं ल्याइने गरेको छ । सामाजिक सञ्जाल, चिनजानका व्यक्ति वा आकर्षक रोजगारीको आश्वासनमार्फत उनीहरूलाई सहर ल्याएर जबर्जस्ती काममा लगाउने, यौन शोषण गर्ने तथा मानसिक दबाब दिने घटनाहरू अनुसन्धानका क्रममा भेटिएका छन् ।
‘आन्तरिक ट्राफिकिङको कुरा गर्ने हो भने उपत्यकासँग जोडिएको जिल्लाहरू काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोटहरूबाट विभिन्न किसिमको प्रलोभन देखाएर ल्याइने गरेको पाइन्छ बालिकाको हकमा प्रलोभन, अन्य किसिमको सम्पर्कबाट अथवा सामाजिक सञ्जालको सम्पर्कबाट काठमाडौँलगायतका सहरहरु आउने गरेका छन् । उनीहरुलाई इजी वर्क वा इजी मनी आउने प्रलोभन देखाउने गरिएको छ । त्यसमा पनि ०८१।८२ र ०८२।८३ मा ४१ वटा मुद्दा दर्ता गरेका छौँ। सजिलो काम, राम्रो आम्दानी र आकर्षक अवसरको प्रलोभन देखाएर वालिकाहरुलाई फसाउने गरेको पाइन्छ । तर सम्पर्कमा ल्याइकेपछि नियन्त्रणमा राख्ने, यातना दिने, धम्की दिने र शोषण गर्ने अवस्था देखिएको छ,’ प्रवक्ता लिम्बुले भने ।
ब्यूरोका अनुसार आर्थिक वर्ष २०८१÷८२ र २०८२÷८३ मा मात्रै आन्तरिक मानव बेचबिखनसम्बन्धी ४१ वटा मुद्दा दर्ता गरी अनुसन्धान गरिएको छ ।
कम्बोडिया र लाओसमा साइबर स्क्यामिङको जालो
पछिल्लो समय दक्षिणपूर्वी एसियाका केही मुलुकमा हुने साइबर स्क्यामिङका घटनामा नेपालीहरू फस्ने क्रम बढेको ब्यूरोले जनाएको छ ।
विशेषगरी कम्बोडिया र लाओसमा रोजगारीको नाममा पुर्याइएका नेपालीहरूलाई अनलाइन ठगीसम्बन्धी काममा जबर्जस्ती लगाउने घटना देखिएको छ । यस्ता घटनामा पुरुषहरू बढी पीडित बनेको ब्यूरोको अनुभव छ ।
‘साइबर स्क्यामिङका रुपमा लाओस, कम्बोडियाको हकमा पुरुषहरू पीडितको रूपमा देखिएका छन् । भिजिट भिसाबाट वा अन्य माध्यमबाट उनीहरुलाई पुर्याउने गरिएको छ । फसेकाहरूले चाहिँ फर्केर आएपछि उजुरी दिएको अवस्था छ । साथीभाइ, आफन्त वा चिनजानका माध्यमबाट धेरै जना त्यहाँ पुगेका छन् । कतिपय सामाजिक सञ्जालमार्फत आएको अवसरको प्रलोभनमा पनि परेका छन्,’ लिम्बुले भने ।
मध्यपूर्वमा घरेलु कामदारका नाममा शोषण
मध्यपूर्वका मुलुकहरू, विशेषगरी कुवेत र इराकमा घरेलु कामदारका रूपमा जाने महिलाहरू बढी जोखिममा रहेको ब्यूरोले जनाएको छ ।
भिजिट भिसा वा अनधिकृत माध्यमबाट विदेश पुगेपछि उनीहरूलाई प्रतिबन्धित काममा लगाउने, सम्झौताअनुसारको काम नदिने, पारिश्रमिक नदिने तथा विभिन्न किसिमको शोषण गर्ने घटना अनुसन्धानका क्रममा भेटिएको छ ।
उनले भने, ‘मिडिल इस्टको हकमा विशेषगरी कुवेत, इराकमा चाहिँ महिलाहरू डोमेस्टिक वर्करका रूपमा जाने गरेको पाइन्छ । त्यसमा महिलाहरुको संख्या धेरै छ ।’
कतिपय अवस्थामा एजेन्टहरूले आर्थिक प्रलोभन देखाएर विदेश पुर्याउने र त्यहाँ पुगेपछि अर्को व्यक्तिलाई हस्तान्तरण गर्ने गरेको समेत पाइएको ब्यूरोले जनाएको छ ।
उद्धारलाई पहिलो प्राथमिकता
मानव बेचबिखनका घटनामा पीडितको उपस्थितिमा मात्र मुद्दा अघि बढ्ने भएकाले उद्धारलाई पहिलो प्राथमिकता दिने गरिएको प्रवक्ता लिम्बुले बताए ।
ब्यूरोका अनुसार आर्थिक वर्ष २०८१/८२ मा उद्धारका लागि ५६६ वटा निवेदन आएका थिए भने ९३६ जनाको उद्धार गरिएको थियो । आर्थिक वर्ष २०८२÷८३ मा ३८९ वटा निवेदनका आधारमा ६०६÷६०७ जनाको उद्धार गरिएको ब्यूरोले जनाएको छ ।
उनले भने,‘ मानव बेचबिखनका मुद्दामा पीडितको उपस्थिति महत्वपूर्ण हुन्छ । त्यसैले सबैभन्दा पहिले उद्धारलाई प्राथमिकता दिने गरेका छौँ । उद्धारपछि पीडितलाई सम्पर्कमा ल्याएर आवश्यक कागजात संकलन गर्ने, घटनाको विवरण लिने र सम्बन्धित व्यक्ति वा एजेन्टविरुद्ध उजुरी दर्ताको प्रक्रियामा लैजाने काम हुन्छ । उद्धारका क्रममा सम्बन्धित देशमा रहेका नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, कन्सुलर विभाग तथा विभिन्न संघसंस्थासँग समन्वय गरेर काम गरिरहेका छौँ ।’
उद्धारका लागि सम्बन्धित देशका नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, कन्सुलर विभाग तथा विभिन्न संघसंस्थासँग समन्वय गर्ने गरिएको छ ।
वैदेशिक रोजगारीमा जाँदा सचेत हुन आग्रह
ब्यूरोले वैदेशिक रोजगारीमा जाने नेपालीलाई आधिकारिक माध्यम प्रयोग गर्न आग्रह गरेको छ ।
उनका अनुसार भाषा, सीप र गन्तव्य देशको अवस्थाबारे जानकारी नलिई विदेश जाँदा जोखिम बढ्ने गरेको छ। विशेषगरी भिजिट भिसामा जाने, अपरिचित एजेन्टको भर पर्ने र सामाजिक सञ्जालबाट आएका अवसरमा विश्वास गर्नेहरू बढी जोखिममा पर्ने गरेका छन् ।
उनले भने, ‘वैदेशिक रोजगारीका लागि विदेश जान चाहनेहरूले आधिकारिक प्रक्रिया अपनाउनुपर्छ । सरकारले स्वीकृति दिएका म्यानपावर कम्पनी वा वैधानिक माध्यमबाट मात्रै जान अनुरोध गर्छौँ । भाषा, सीप र जाने देशको अवस्थाबारे पर्याप्त जानकारी नलिई विदेश जाँदा विभिन्न किसिमका जोखिममा पर्ने सम्भावना हुन्छ । विशेषगरी भिजिट भिसामा जाने, अपरिचित एजेन्टको भर पर्ने र सामाजिक सञ्जालमा आएका आकर्षक अवसरको प्रलोभनमा पर्ने व्यक्तिहरू मानव बेचबिखनको जोखिममा बढी पर्ने गरेका छन् ।’
कानुन सुधार र अनुसन्धानमा एकरूपताको पहल
मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कानुन संशोधनका लागि सुझावसमेत मन्त्रालयमा पठाएको जनाएको छ । त्यस्तै, देशभरका प्रहरी इकाइहरूमा अनुसन्धान प्रक्रियामा एकरूपता ल्याउन ‘मानव बेचबिखन तथा मानव तस्करी अनुसन्धान दिग्दर्शन, २०८२’ कार्यान्वयनमा ल्याइएको छ । ब्यूरोले रोकथाम, जनचेतना अभिवृद्धि, प्रशिक्षण कार्यक्रम र सामाजिक सञ्जालमार्फत सूचनामूलक सामग्री प्रसारणलाई पनि निरन्तरता दिइरहेको जनाएको छ । उनले भने, ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन आवश्यक सुझावहरू मन्त्रालयमा पठाएका छौँ । अनुसन्धानलाई देशभर एकरूप र प्रभावकारी बनाउन ‘मानव बेचबिखन तथा मानव तस्करी अनुसन्धान दिग्दर्शन, २०८२’ कार्यान्वयनमा ल्याइएको छ । त्यसैगरी रोकथाम र न्यूनीकरणका लागि विभिन्न सरकारी निकाय तथा संघसंस्थासँग समन्वय गर्दै जनचेतनामूलक कार्यक्रम, प्रशिक्षण र सामाजिक सञ्जालमार्फत सूचनामूलक सामग्री प्रसारणलाई निरन्तरता दिएका छौँ ।’ मानव बेचबिखनविरुद्ध दिवसको अवसरमा ब्यूरोले बदलिँदो स्वरूपका बेचबिखन पहिचान, रोकथाम र पीडितको उद्धारमा सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ ।
आकांक्षा धामी, नेपाल न्यूज बैंक

