काठमाडौँ । अमेजन प्राइममा प्रशारण भइरहेको वेभ सिरिजमा नेपाली समुदायको अपमान हुने भाषाको प्रयोग गरको विषयमा बलिवुड अभिनेत्री तथा वेभ सिरिजकी निर्मात्री अनुष्का शर्मालाई ‘लिगल नोटिस’ दिइएको छ ।
वेभ सिरिज ‘पाताल लोक’ मा जातिसुचक शब्दको प्रयोग भएको भन्दै विरेन सिंह गुरुङले निर्मात्री अनुष्का शर्मा र अमेजनलाई कानुनी नोटिस पठाएका हुन् । नोटिसमा सिरिजको एक भागको ३ मिनेट ४१ सेकेन्डमा पुछताछको क्रममा महिला प्रहरीले नेपालीको भूमिका निभाएकालाई जातिवादी गाली गरेको पाइन्छ ।
बिरेनले सिरिजमा नेपाली भाषा प्रयोग भएकोमा कुनै आपत्ति छैन तर जुन जातिवादी शब्दको प्रयोग गरिएको छ त्यो आपत्तिजनक रहेको बताएका छन् ।

भारतमा नेपाली भाषा २२ अनुसूचित भाषा मध्ये एक हो र करिब डेढ करोडले नेपाली भाषा बोल्ने अनुमान छ ।
यस प्रकरणमा विरेनले एक अनलाइन पिटीसन समेत शुरु गरेका छन् । उनले रचनात्मक स्वस्तन्त्रताको नाममा नस्लवादी टिप्पणी स्वीकार गर्न नसकिने भन्दै भारतीय सूचना एवं प्रशारण मन्त्रालयलाई हस्तक्षेप गर्न समेत अनुरोध गर्ने बताएका छन् । साथै उनले अमेजन र अनुष्का शर्मालाई यस प्रकरणमा माफी माग्न समेत भनेका छन् ।
यस सिरिजमा जयदीप अहलावत, नीरज काबी, अभिषेक बेनर्जी, स्वस्तिका मुखर्जी, लगायतका कलाकारले अभिनय गरेका छन् ।
