अमेरिकी कार्यवाहक राजदूतले भेटे शिक्षामन्त्री, शिक्षा र खेलकुद सहकार्य विस्तारबारे छलफल
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध, शिक्षा र खेलकुद क्षेत्रमा द्विपक्षीय सहकार्य, साझा हितका विषय तथा आगामी सहकार्यलाई थप प्रभावकारी बनाउने उपायबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास, सीपमूलक शिक्षाको प्रवर्द्धन तथा खेलकुद क्षेत्रमा सहकार्यका सम्भावनाबारे समेत विचार आदानप्रदान भएको थियो। अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै विशेषगरी अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत सञ्चालन भएका अर्ली ग्रेड रिडिङ तथा लर्निङ कार्यक्रम र कलेज अफ एजुकेशनमा प्रदान गरिएको सहयोगबारे पनि छलफल भएको थियो।
मन्त्री पोखरेलले नेपाल र अमेरिकाबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
उनले सरकारले शिक्षा क्षेत्रमा सुधारका विभिन्न कार्यक्रम अघि बढाइरहेको जानकारी दिँदै विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको काम जारी रहेको बताए। पाठ्यक्रमलाई सैद्धान्तिकभन्दा व्यवहारिक बनाउने तथा विद्यालय तहदेखि नै खेलकुदलाई पाठ्यक्रममा समावेश गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
मन्त्री पोखरेलले विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन भइरहेको र त्यसकै आधारमा आवश्यकताअनुसार बजेट विनियोजन गरिने उल्लेख गरे। साथै भौतिक पूर्वाधार, शैक्षिक सुविधा र शिक्षक तालिमलाई मन्त्रालयले प्राथमिकतामा राखेर अघि बढाइरहेको बताए।
उनले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेसागत क्षमता अभिवृद्धि तथा विद्यालय स्वास्थ्य र पोषणका क्षेत्रमा अमेरिकी सरकारसँग थप सहकार्य गर्न सकिने धारणा पनि राखे।
कार्यवाहक राजदूत अर्बमले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रको विकासका लागि द्विपक्षीय समझदारीमार्फत आवश्यक सहयोग गर्न अमेरिका सकारात्मक रहेको बताए। उनले नेपाल सरकारले शिक्षा सुधारका लागि अघि बढाएका कार्यक्रमबारे अमेरिकी सरकार जानकार रहेको उल्लेख गर्दै ती प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिका सधैँ प्रतिबद्ध रहने विश्वास व्यक्त गरे।

