काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग आज (मंगलबार) बिहान ११:३० बजे छलफल गर्ने भएका छन्। भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने तय भएको छ।
छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनेछन्।
बैठकमा नेपाली तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगीले भोगिरहेका चुनौती, स्वदेशी उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना र समग्र उद्योग क्षेत्रको विकासका विषयमा केन्द्रित भएर छलफल हुने जनाइएको छ।
प्रधानमन्त्री शाहले पछिल्ला दिनमा निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा विभिन्न सरोकारवाला निकायसँग नियमित संवादलाई निरन्तरता दिँदै आएका छन्। उद्योग क्षेत्रका समस्या, तिनको समाधानका उपाय तथा आवश्यक नीतिगत सुधारका विषयमा सुझाव संकलन गर्दै सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिँदै आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।


