काठमाडौं । रेटिङ एजेन्सी इक्रा नेपालले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको दीर्घकालीन इस्युअर रेटिङ ‘ICRANP-AAA’ पुनः पुष्टि गरेको छ। बैंकले लगातार सातौँ पटक यो उच्चतम क्रेडिट रेटिङ कायम राख्न सफल भएको हो, जसले बैंकको अत्यन्त सुदृढ क्रेडिट प्रोफाइल, Financial Resilience दायित्व समयमै बहन गर्ने उत्कृष्ट क्षमता तथा न्यूनतम डिफल्ट जोखिमलाई प्रतिबिम्बित गर्छ।
इक्रा नेपालको मूल्यांकनअनुसार २०८२ चैत मसान्तसम्म बैंकको क्यापिटल एडेक्वेसी रेसियो (CAR) १७.८२ प्रतिशत तथा Tier-I Capital Ratio १६.१४ प्रतिशत रहेको छ। यी दुवै सूचक नेपाल राष्ट्र बैंकले बासेल–III फ्रेमवर्कअन्तर्गत तोकेको न्यूनतम नियामकीय आवश्यकता क्रमशः ११ प्रतिशत र ८.५ प्रतिशतभन्दा उल्लेख्य रूपमा माथि रहेकाले बैंकसँग बलियो क्यापिटल बफर, उच्च लस–अब्जर्बिङ क्षमता तथा भविष्यमा सम्भावित क्रेडिट झट्का सामना गर्ने पर्याप्त वित्तीय सामर्थ्य रहेको इक्रा नेपालले जनाएको छ।
त्यसैगरी, Asset Quality Metrics पनि समग्र बैंकिङ उद्योगको औसतभन्दा उल्लेख्य रूपमा सबल रहेको मूल्यांकन गरिएको छ। २०८२ चैत मसान्तसम्म बैंकको ग्रोस नन–परफर्मिङ लोन (Gross NPL) अनुपात १.८१ प्रतिशतमा सीमित रहँदा सोही अवधिमा वाणिज्य बैंकहरूको औसत एनपीएल ५.४१ प्रतिशत पुगेको थियो। साथै, बैंकको ०+ डेज पास्ट ड्यु (०+ DPD) अनुपात पनि करिब ५ प्रतिशतमा सीमित रहेको उल्लेख गर्दै इक्रा नेपालले बैंकको प्रुडेन्ट अन्डरराइटिङ स्ट्यान्डर्ड, प्रभावकारी क्रेडिट रिस्क म्यानेजमेन्ट तथा स्वस्थ ऋण पोर्टफोलियोलाई यसको प्रमुख आधारका रूपमा औँल्याएको छ।

इक्राले स्ट्यान्डर्ड चार्टर्ड समूहको बलियो प्रवर्द्धन, कडा जोखिम व्यवस्थापन प्रणाली र विवेकपूर्ण कर्जा प्रवाह नीतिलाई बैंकको प्रमुख सबल पक्ष मानेको छ । सन् १९८७ देखि सञ्चालनमा रहेको यस बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत स्वामित्व रहेको छ । बैंकको निक्षेप संरचना पनि रेटिङका लागि सकारात्मक पक्ष बनेको छ। चल्ती तथा बचत निक्षेप (कासा), मार्जिन तथा कल निक्षेपको हिस्सा करिब ७९ प्रतिशत पुगेको छ, जुन बैकिङ इन्डष्ट्रिजको औसतभन्दा उल्लेख्य रुपमा माथि हो ।
यसका कारण बैंकले न्यून लागतमा स्रोत परिचालन गर्न सकेको छ। आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा बैंकको निक्षेप लागत २.३१ प्रतिशत मात्र रहेको इक्राले जनाएको छ । नाफाका सूचकहरु पनि सन्तोषजनक रहेको मूल्यांकन गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकको आरओए २.०३ प्रतिशत र नेटवर्थमा प्रतिफल १४.२८ प्रतिशत रहेको थियो । गैर–ब्याज आम्दानी, न्यून सञ्चालन खर्च तथा नियन्त्रित प्रोभिजनिङ खर्चले नाफालाई सहयोग गरिरहेको इक्राको भनाइ छ ।
यद्दपि, बैंकको कर्जा पोर्टफोलियोमा उच्च केन्द्रीकरण रहेको विषयलाई इक्राले प्रमुख चुनौतीका रुपमा औंल्याएको छ । चैत मसान्तसम्म शीर्ष २० ऋणी समूहमा बैंकको कुल कर्जाको करिब ३६ प्रतिशत केन्द्रित रहेको छ । त्यस्तै, शीर्ष २० निक्षेपकर्तामा करिब २३ प्रतिशत निक्षेप केन्द्रित रहेको पनि रिपोर्टमा उल्लेख छ।
इक्राले बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा, कमजोर कर्जा विस्तार, बारम्बार परिवर्तन भइरहने नियामकीय व्यवस्था तथा ऋणीहरुको तरलता दबाबलाई समग्र उद्योगकै चुनौतीका रुपमा उल्लेख गरेको छ । यद्दपि बलियो पुँजीकरण, उच्च सम्पत्ति गुणस्तर र कम लागतको निक्षेप संरचनाका कारण स्ट्यान्डर्ड चार्टर्ड बैंक यी चुनौतीहरुको सामना गर्न तुलनात्मक रुपमा सक्षम रहेको मूल्यांकन गरिएको छ।
हाल स्ट्यान्डर्ड चार्टर्ड बैंकका देशभर १४ शाखा, ४ एक्सटेन्सन काउन्टर र २३ एटीएम सञ्चालनमा छन् । चैत मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेपमा बैंकको बजार हिस्सा २.०७ प्रतिशत तथा कुल कर्जामा १.४९ प्रतिशत रहेको छ ।
