काठमाडौं । एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा कर्जा रकम दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ५८ वर्षीय शर्मालाई मंगलबार काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानबाट पक्राउ गरेको हो।
नेपाल राष्ट्र बैंकको विशेष स्थलगत निरीक्षण प्रतिवेदनअनुसार एसियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंकबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो। तर प्रारम्भिक अनुसन्धानमा उक्त रकम निर्धारित प्रयोजनमा प्रयोग नगरी आफ्नै समूहका अन्य ऋणी कम्पनी तथा पारिवारिक सम्बन्ध रहेका व्यक्तिसँग आबद्ध कम्पनीहरूको बक्यौता भुक्तानी गर्न प्रयोग गरिएको खुलेको सीआईबीले जनाएको छ।

राष्ट्र बैंकको प्रतिवेदनमा बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि दृष्टिबन्धक गर्ने सहमतिपत्रका आधारमा कर्जा प्रवाह गरिएको र त्यसपछि उक्त रकम अन्य प्रयोजनमा खर्च गरिएको उल्लेख गरिएको छ।
कर्जा रकम दुरुपयोग गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ बमोजिम कसुर भएको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले थप अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो।
सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार उच्च अदालत पाटनको अनुमति लिएर शर्मालाई पक्राउ गरिएको हो। उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
