२०८३ असार २९

शंकास्पद गाडी पार्किङप्रति पत्रकार महासंघको आपत्ति, सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न माग

Headlines समाचार

काठमाडौँ । मिडिया हाउसहरु को गेटमा शंकास्पद रूपमा पार्किङ गरी राखेको गाडीको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आज बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्स, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा बेवारिसे तथा शंकास्पद ढंगले गाडी पार्किङ गरिएको उल्लेख गरेको छ। यसका कारण पत्रकार तथा सञ्चारकर्मीलाई कार्यालय प्रवेश र आवतजावतमा समस्या सिर्जना भएको महासंघले जनाएको छ।

महासंघले उक्त घटनालाई सञ्चारमाध्यमको नियमित कार्यसम्पादन तथा पत्रकारको पेसागत अधिकारमाथिको अवरोधका रूपमा लिँदै तत्काल गाडी हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालय प्रवेशमा अवरोध हुने गरी एकै समयमा उस्तै तरिकाले गाडी पार्किङ गरिएको पाइएको हो ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले सम्बन्धित कार्यालयमा पुगेर गाडीधनीको खोजी तथा प्रारम्भिक अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले शंकास्पद गाडीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिने बताएका छन् । उनले कसले र किन यस्तो गरेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।