काठमाडौं, सिद्धार्थ बैंकले आफ्नो मनिग्राम शाखाबाट प्रवाह गरिएका केही कर्जासम्बन्धी विषयलाई लिएर सामाजिक सञ्जाल, अनलाइन माध्यम तथा पत्रकार सम्मेलनमार्फत बैंक र कर्मचारीमाथि लगाइएका आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा मनिग्राम शाखाबाट कर्जा लिएका विभिन्न ऋणीहरूको नाम जोडेर दिलिप सिंह ओलीसहित केही व्यक्तिले बैंकको कर्जा प्रवाह तथा असुली प्रक्रियामाथि आधारहीन आरोप लगाउँदै भ्रामक सामग्री प्रसारण गरेको दाबी गरेको छ। यस्ता गतिविधिले बैंक मात्र नभई समग्र बैंकिङ प्रणालीको विश्वसनीयतामा समेत आँच पुर्याउने उद्देश्य देखिएको बैंकको भनाइ छ।
बैंकका अनुसार दिलिप सिंह ओली सिद्धार्थ बैंकका निक्षेपकर्ता वा कर्जा ग्राहक नै नभएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा बैंकले कर्जा स्वीकृति तथा असुली प्रक्रिया प्रचलित कानुन, नियामकीय व्यवस्था र आन्तरिक मापदण्डअनुसार सञ्चालन हुँदै आएको जनाएको छ। उल्लेख गरिएका ऋणीहरूलाई कर्जा प्रवाह गर्दा पनि अन्य ग्राहकसरह एउटै प्रक्रिया अपनाइएको र अनियमित भएका कर्जाको हकमा कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइएको बैंकको दाबी छ।
बैंकले असुली प्रक्रिया सुरु भएपछि सम्बन्धित व्यक्तिहरूले बैंक व्यवस्थापन तथा कर्मचारीहरूको नाम र तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा भिडियो तथा अन्य सामग्री प्रसारण गर्दै बैंकको प्रतिष्ठामा आँच पुर्याउने प्रयास गरेको आरोप पनि लगाएको छ। यस्ता सामग्री तथ्यहीन रहेको भन्दै त्यसमा विश्वास नगर्न बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ।
साथै, बैंकले आफ्नो सेवा वा कर्जासम्बन्धी कुनै गुनासो भए बैंकको आन्तरिक गुनासो सुनुवाइ संयन्त्रमा निवेदन दिन सकिने, त्यसबाट पनि चित्त नबुझे नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाई तथा प्रचलित कानुनी प्रक्रियामार्फत न्याय खोज्न सकिने जनाएको छ।
बैंकले पुष्टि नभएका आरोप वा सामग्री सार्वजनिक गर्नुअघि सम्बन्धित पक्षको आधिकारिक धारणा लिएर मात्र समाचार, भिडियो वा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यम र सरोकारवालासँग आग्रह गरेको छ।
Press Release 2083.03.23
