काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखल र नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष मासातो काम्दाले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको संयुक्त रूपमा अवलोकन गरेका छन् । एडिबीको सहयोगमा भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत निर्माण गरिएका विद्यालयका भवन, विज्ञान प्रयोगशा (साइन्स ल्याब) तथा स्मार्ट कक्षाको उनीहरुले अवलोकन भ्रमण गरेका हुन् ।
अवलोकनका क्रममा मन्त्री पोखरेल र एडिबी अध्यक्ष काम्दाले शिक्षकका लागि ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोडुलको पाइलट शुभारम्भ गरे । अनलाइन तथा स्व–अध्ययन (सेल्फ–लर्निङ) मा आधारित उक्त तालिम एडिबी र शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक सहकार्यमा विकास गरिने जनाइएको छ । तालिममार्फत शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत ज्ञान तथा डिजिटल दक्षता विकास गराइनेछ ।
कार्यक्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा एडिबीले करिब पाँच दशकदेखि पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै डिजिटल रूपान्तरण, प्राविधिक तथा व्यावसायिक शिक्षा लगायतका प्राथमिकता क्षेत्रमा आगामी दिनमा पनि सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

एडिबी नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजनाको प्रमुख विकास साझेदारमध्ये एक हो । विद्यालय पूर्वाधार निर्माणदेखि शिक्षा सुधारका विभिन्न कार्यक्रममार्फत एडिबीले लामो समयदेखि सहयोग गर्दै आएको मन्त्रालयले जनाएको छ ।
