काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतले भारतीय रुपैयाँमा सीमापार भुक्तानीका लागि अत्याधुनिक एपीआई (API) मा आधारित भुक्तानी सेवा सुरु गरेका छन्। यससँगै सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग एपीआई कनेक्टिभिटीमार्फत सीमापार भुक्तानी प्रणाली सञ्चालन गर्ने नेपालको पहिलो बैंक बनेको छ।
बैंकका अनुसार नयाँ प्रणालीले परम्परागत म्यानुअल तथा ब्याचमा आधारित भुक्तानी प्रक्रियालाई प्रतिस्थापन गर्दै पूर्ण स्वचालित र वास्तविक समय (रियल–टाइम) मा भुक्तानी हुने व्यवस्था लागू गर्नेछ। यसबाट नेपाल–भारतबीच हुने वित्तीय कारोबार अझ छिटो, सहज, सुरक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
दुवै बैंकले निकट भविष्यमा एपीआईमार्फत अमेरिकी डलरमा समेत सीमापार भुक्तानी सेवा विस्तार गर्ने समझदारी भएको जानकारी दिएका छन्। यसलाई अन्तर्राष्ट्रिय बैंकिङ सहकार्यमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत (सीएफओ) निरज ढकालले यो पहल सीमापार बैंकिङलाई नवीन, सरल, छिटो र भरपर्दो बनाउने बैंकको रणनीतिक प्रतिबद्धताको निरन्तरता भएको बताए। उनका अनुसार यसले नेपाल–भारतबीचको वित्तीय कारोबारलाई थप सहज बनाउनुका साथै ग्राहक अनुभवमा उल्लेखनीय सुधार ल्याउनेछ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका हेड अफ फाइनान्सियल इन्स्टिच्युसन्स राजकमल बस्नेतले यो साझेदारीले स्ट्यान्डर्ड चार्टर्डको सीमापार बैंकिङ विशेषज्ञता र सानिमा बैंकको प्रविधिमैत्री एपीआई समाधानलाई एकीकृत गरेको बताए। उनका अनुसार यसले अन्तर्राष्ट्रिय भुक्तानीको समय र लागत घटाउनुका साथै पारदर्शिता, सुरक्षा, दक्षता र नियामकीय अनुपालनलाई अझ सुदृढ बनाउनेछ।

