काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा आकस्मिक अनुगमन तथा निरीक्षण गर्नुभएको छ। मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहितको उच्चस्तरीय टोलीसँग बिहानै कार्यालय पुग्नुभएका मन्त्री यादवले सेवा प्रवाह, डिजिटल प्रणाली र प्रशासनिक सुधारको अवस्थाबारे जानकारी लिनुभएको हो।
अनुगमनका क्रममा कम्पनी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले पछिल्लो एक महिनामा कार्यालयमा गरिएका सुधारका कार्यहरूबारे जानकारी गराउँदै सरकारले अघि सारेको शासकीय सुधार कार्यक्रमअनुसार कम्पनी दर्ता प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाइएको बताउनुभयो। उहाँका अनुसार अब सेवाग्राहीले कम्पनी दर्ताका लागि कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ भने घरबाटै अनलाइनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था लागू गरिएको छ। साथै कम्पनी दर्तासँगै स्थायी लेखा नम्बर (PAN) पनि एकीकृत प्रणालीमार्फत स्वतः प्राप्त हुने व्यवस्था गरिएको छ, जसका कारण आन्तरिक राजस्व कार्यालयमा छुट्टै जानुपर्ने आवश्यकता हटेको छ।
कार्यालयले सेवाग्राहीको गुनासो तथा जिज्ञासाको तत्काल सम्बोधन गर्न आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रविधिमा आधारित कल सेन्टरसमेत सञ्चालनमा ल्याएको जनाएको छ। यसबाट २४सै घण्टा कम्पनी दर्तासम्बन्धी सूचना तथा सहजीकरण उपलब्ध हुने विश्वास लिइएको छ। निरीक्षणका क्रममा मन्त्री यादवले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आधुनिक प्रविधिको अधिकतम उपयोग गर्न र सेवाग्राहीले कुनै पनि प्रकारको झन्झट वा सास्ती भोग्न नपर्ने वातावरण सुनिश्चित गर्न निर्देशन दिनुभयो।

डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयनसँगै कार्यालयले जनशक्ति व्यवस्थापनमा समेत सुधारको प्रस्ताव अघि सारेको छ। रजिष्ट्रार श्रेष्ठले उपलब्ध प्रविधिको पूर्ण उपयोगबाट कम जनशक्तिबाट बढी र छिटो सेवा दिन सम्भव भएको उल्लेख गर्दै २८ प्रतिशत कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष पेस गरिएको जानकारी दिनुभयो। उक्त प्रस्ताव कार्यान्वयन भए प्रशासनिक खर्चमा उल्लेख्य बचत हुने कार्यालयको विश्वास छ।
अनुगमनका क्रममा मन्त्री यादव, सचिव राउतसहितको टोलीले कार्यालयका विभिन्न शाखा तथा कार्यकक्षहरूको निरीक्षण गरेको थियो। कार्यालयले आगामी दिनमा डिजिटल सुशासनलाई थप प्रभावकारी बनाउँदै सेवाग्राहीमैत्री सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
