राष्ट्र बैंकले निष्कासन गर्‍यो ३५ अर्ब रुपैयाँको ऋणपत्र, एक वर्ष अवधि अर्धवार्षिक ब्याज भुक्तानी

बैंक/वित्त

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको तरलता व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको एक वर्षे ऋणपत्र निष्काशन गरेको छ।

मौद्रिक व्यवस्थापन विभागका अनुसार ‘NRB Bond 2084 ‘Ka’’ नामक उक्त ऋणपत्र आजदेखि अनलाइन बोलकबोल (इ–बिडिङ) प्रणालीमार्फत बिक्री खुला गरिएको हो।

ऋणपत्र एक वर्ष अवधिको रहेको छ भने यसको ब्याजदर बोलकबोलमार्फत निर्धारण गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले अनलाइन प्रणालीमार्फत आफ्नो प्रस्तावित दरसहित आवेदन दिन सक्नेछन्।

कुल ३५ अर्ब रुपैयाँ बराबरको निष्काशन गरिएकाे यो ऋणपत्र बैंक तथा वित्तीय संस्थाहरूका लागि लक्षित मौद्रिक उपकरण हो। यसमार्फत बजारमा देखिने अतिरिक्त तरलता व्यवस्थापन गर्ने राष्ट्र बैंकको उद्देश्य रहेको छ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ भने कर कट्टा गरी लगानीकर्तालाई रकम उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ।