कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको पुष्टि

विविध

२०७७ जेष्ठ ०४ : काठमाडौँ – बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश ५ का  सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको बताउनु भयो ।

‘उहाँको रिपोर्ट पोजेटिभ आयो, योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ,’ मन्त्री बरालले भन्नुभयो । मन्त्री बरालले कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधार मृतकको शव व्यवस्थापन गर्न निर्देशन दिएको जानकारी दिनुभयो । उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने मन्त्री बरालले बताउनु भयो ।

योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो ।

आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए । उनी वैशाख ३० गते नेपाल आएका थिए ।

भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो । नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन् ।

मृत्यु हुनुअघि आइतबार बिहान ४ बजेतिर उनले अचानक दुई पटक बान्ता गरेका थिए ।