काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले विराटनगर महानगरपालिका–१२ स्थित केशलिया (बुढी खोला)किनारमा निर्माण गरिएको एकीकृत बस्तीको अवस्था दयनीय रहेको प्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले महानगरपालिका, ह्याबिटाट नेपाल र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा निर्माण गरिएको बस्ती सुकुम्बासीका लागि सुरक्षित आवास नभई ऋणको भार बनेको बताइन् ।
उनले भनिन्, ‘विराटनगर वडा न १२ मा नदी किनारमा बनेको एकिकृत सम्पन्न बस्ती नामको सम्पन्न हो । यो बस्ती विपन्नको चरम नमुनाका रुपमा छ । । महानगर र ह्यापीट्यी नेपाल र निजी जीवन विकास त्रिपक्षीय साझेदारी बनेको बस्ती सुकुम्वासीको लागि आवास होइन् ।’

उनले बस्तीमा आधारभूत पूर्वाधारसमेत नभएको बताइन् । उनका अनुसार त्यहाँ बाटो, ढल, खानेपानी र विद्युत् सेवाको व्यवस्था छैन । साथै नदी किनारमा निर्माण गरिएका करिब १०० घरधुरी सामान्य वर्षामै डुबानको जोखिममा पर्ने अवस्था रहेको उनले बताइन् ।
उनले भनिन्, ‘व्यवस्थापन हो की नीतिगत ठगी हो । न त बाटो छ, न त ढल छ । न त खानेपानी छ । नत बिजुली नै छ । विना सुरक्ष तटबन्धन नदी किनारको खोचमा बनाइएको १०० घरधुरी सामान्य झरीमै जलमग्न हुन्छ ।’
