काठमाडौं । फुटबलको सबैभन्दा ठूलो पर्व मानिने फिफा विश्वकप आज मध्यरातदेखि सुरु हुँदैछ। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यस संस्करणले विश्वभरका करोडौं दर्शकको ध्यान तानेको छ। अनुमानअनुसार विश्वको कुल जनसंख्याको करिब ५८ प्रतिशतले प्रतियोगिता हेर्नेछन्, जसका कारण आगामी एक महिनाभन्दा बढी समय विश्वको नजर यी तीन देशका १८ भव्य रंगशालामा केन्द्रित रहनेछ।
तीन देशले संयुक्त रूपमा विश्वकप आयोजना गरेको यो इतिहासकै पहिलो अवसर हो। यसअघि सन् २००२ मा मात्र दक्षिण कोरिया र जापानले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए। आगामी सन् २०३० को विश्वकप पनि पोर्चुगल, स्पेन र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने तय भइसकेकाले ती देशहरूका आयोजकहरू पनि यस संस्करणलाई विशेष चासोका साथ अवलोकन गरिरहेका छन्।
प्रतियोगिताको उद्घाटन खेल आज मेक्सिकोको चर्चित एस्टाडियो एज्टेका रंगशालामा घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। ३९ दिनसम्म चल्ने विश्व फुटबलको यो महाकुम्भ जुलाई १९ मा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियम मा हुने फाइनलसँगै सम्पन्न हुनेछ। फाइनलपछि अमेरिकी राष्ट्रपति Donald Trump र Gianni Infantino ले विजेता टोलीलाई विश्वकप ट्रफी हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

फिफाले यसपालि विश्वकपमा ४८ टिमलाई सहभागी गराएको छ, जुन विगतको तुलनामा १६ राष्ट्र बढी हुन् । चार राष्ट्र केप भेर्डे, कुराकाओ, उज्बेकिस्तान र जोर्डन नवप्रवेशी मात्र हुन् । यसले प्रतियोगिताको समय मात्र होइन, यस पटक विश्वकप इतिहासमै सबैभन्दा बढी खेल पनि खेलिने भएको छ । विश्वकपमा कुल १०४ खेल हुनेछन् ।
अमेरिकामा सबैभन्दा बढी ७६ खेल खेलिने छन्, जसमध्ये क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल पनि छन् । यसैगरी अमेरिकाका ११ सहर न्युयोर्क, बोस्टन, मियामी, फिलाडेल्फिया, एटलान्टा, डलास, ह्युस्टन, कान्सास, लस एन्जलस, सान फ्रान्सिस्को र सियाटलका रङ्गशालामा विश्वकपका प्रतिस्पर्धा हुनेछन् । यसैगरी मेक्सिकाका तीन सहर मेक्सिको सिटी, मोन्टेरे र ग्वाडालाजारामा कुल १३ खेल खेलिने छन् ।
क्यानडाको भागमा पनि १३ खेल परेका छन् । ती खेल टोरन्टो र भ्यानकुभर सहरमा हुनेछन् । मेक्सिको र अमेरिकासँग विश्वकप फुटबल आयोजनाको अनुभव छ । मेक्सिकोले सन् १९७० र १९८६ तथा अमेरिकाले सन् १९९४ मा विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता आयोजना गरेका थिए । क्यानडाले भने पहिलो पटक विश्वकप आयोजना गर्दै छ ।
