काठमाडौँ, जेठ ३ गते । कार्यभार सम्हालेको महिना दिन नबित्दै ब्राजिलका स्वास्थ्य मन्त्रीले राजीनामा गर्नुभएको छ । कोभिड–१९ को सङ्क्रमण तीव्ररुपमा फैलिरहँदा ब्राजिलका स्वास्थ्य मन्त्री डा. नेल्सन टैकले मन्त्री पदबाट राजीनामा गर्नुभएको हो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रपति जायर बोल्सोनारोले कोरोना सङ्क्रमितमा मलेरियाविरुद्धको औषधी हाइड्रोक्सीक्लोरोक्विनको प्रयोग गर्न दबाब दिएपछि उहाँले राजिनामा गर्नुभएको हो । डा. नेल्सन टैक गत अप्रिल १७ मा जिम्मेवारी सम्हाल्नुभएको थियो ।ब्राजिलमा कोरोना सङ्क्रमणले अर्थ व्यवस्था खुम्चिन थालेको छ । राष्ट्रपति बोल्सोनारोले अर्थ व्यवस्थालाई गति दिन छिटोभन्दा छिटो सङ्क्रमणमुक्त बनाउने उपाय अपनाउन विभिन्न विकल्पलाई लिएर दबाब दिदै आउनुभएको छ ।टैक अघि लुइज हेनरिक्ज मन्डेटाले समेत हाइड्रोक्लोरोक्विनको प्रयोग गर्न अस्वीकार गरेपछि राजिनामा दिनुपरेको थियो । ब्राजिलमा कोरोनाभाइरसको सङ्क्रमणले हालसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ ।
