राष्ट्रपतिले सच्याइन् सम्बोधन ‘मेरो सरकार’

विविध

२०७७ जेष्ठ ०२ : काठमाडौँ – संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गत वर्ष गरेको सम्बोधन सच्याएकी छन् । गत वर्ष संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेकी थिइन् ।

शुक्रबार आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपतिले मेरो सरकार भनेकी छैनन् । उनले ‘वर्तमान सरकार’, ‘यो सरकारु र नेपाल सरकार’ भनेर सम्बोधन गरेकी छन् ।

गत वर्ष संवैधानिक राष्ट्रपतिले मेरो सरकार भनेको भन्दै प्रमुख प्रतपक्षी दलले विरोध गरेको थियो । त्यस्तै राष्ट्रपतिको शैली राजाको जस्तै भएको भन्दै सार्वजनिक आलोचना भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने राष्ट्रपतिले मेरो सरकार भन्न मिल्ने भनेर उनको प्रतिरक्षा गरेका थिए । नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा ‘नेपाल सरकार’ भनेका थिए ।

यादव आफ्नो सम्बोधन क्रममा धेरैजसो ठाउँमा कर्ता प्रयोग नगरी’… यस्तो गरिनेछु भन्थे । कतिपय ठाउँमा उनले ‘वर्तमान सरकार’ पनि भनेका थिए । राजतन्त्र कालमा राजाले संसदमा गर्ने सम्बोधनमा सधैं ‘मेरो सरकार’ भन्ने गर्थे ।

गणतन्त्रतात्मक व्यवस्थामा जननिर्वाचित सरकारलाई राजाका पालामा जस्तै ‘मेरो सरकार’ भन्नु शोभनीय नहुने भन्दै गत वर्ष विपक्षी दलले समेत आलोचना गरेको थियो ।