लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग हो भनेर सावित गर्ने आधारहरु

विविध

नेपाल र भारतको सीमा भन्नाले सन् १८१६ मा ब्रिटिश इन्डिया र नेपालबीच भएको सुगौली सन्धिलाई सम्झनुपर्छ। बलिया प्रमाणहरू हुँदा हुँदै पनि नेपालकै कूटनीतिक कमजोरीका कारण कालापानी क्षेत्रमा नेपालको झन्डै ३७४ वर्गकिलोमिटर भूभाग भारतको नक्सामा परेको छ।सुगौली सन्धिको धारा ५ मा काली नदीको कुरा उल्लेख छ। त्यस धारामा नेपालका राजा महाराजा, तिनका उत्तराधिकारी, सन्तान, दरसन्तानले काली नदीपारि पश्चिमका जनतासँग सम्पर्क गर्न पाउनेछैनन् भनेपछि नेपालको पश्चिमी सीमा काली नदी भएको हो।महाकाली नदी कुन हो भन्ने कुरा चाहिँ ब्रिटिश सर्भेअर अफ इन्डियाले १८२७ मा गढवाल-कुमाऊँ नाम दिएर एउटा नक्सा बनाएको छ। त्यस नक्सामा लिम्पियाधुराबाट निस्किएको नदीलाई काली भनेर प्रस्टसँग उल्लेख गरिएको छ। यो नदीभन्दा पूर्वतर्फ कालापानी पर्छ। यो नक्सालाई मान्दा लिपुलेक, कालापानी सबै नेपालको ठहर्छ।त्यसैगरी सन् १८५६ मा भारतको सर्वेक्षण विभागले नै प्रकाशित गरेको नक्सामा शीर्षक नै ‘नेपाल एन्ड कन्ट्रीज एड्जोइनिङ टु दि साउथ, वेस्ट एन्ड इस्ट कम्पाइल्ड इन द अफिस अफ सभेर्यर जेनरल अफ इन्डिया’ लेखिएको छ।यो नक्साको नोट नम्बर ३ मा जङ्गबहादुरले नेपाली हाते कागजमा बनाएको नक्साको विवरण पनि यसमा समावेश गरिएको उल्लेख छ।यसमा पनि लिम्पियाधुराबाट निस्किएको नदीलाई काली लेखिएको छ।

वर्तमान भारतले ब्रिटिश इन्डियाको विरासत बोकेको छ। त्यसैले ब्रिटिश इन्डियाले बनाएका आधिकारिक र ऐतिहासिक नक्सा वर्तमान भारतले पनि मान्नुपर्ने हुन्छ। तर भारतले लिम्पियाधुराबाट निस्केको नदीलाई काली नमानीकन एउटा पहाडबाट निस्केको सानो तिरतिरे खोलालाई काली नदी मान्दै आएको छ।भारतले लिपुलेकदेखि पश्चिमको पूरै भूभाग अर्थात् लगभग ३७४ वर्गकिलोमिटर भूभाग आफ्नो नक्सामा गाभेको छ।भारत स्वतन्त्र भएदेखि बनाउँदै गएको नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरा भारततिर पारिएको छ। यसलाई आधिकारिक नक्सा मान्न सकिँदैन।

पत्रकार भैरव रिसालले २०१८ सालमा जनगणना गराउँदा कालापानी क्षेत्रका कुती, नाभी लगायतका स्थानको अभिलेख गरिएको छ। लन्डनको ब्रिटिश लाइब्ररी र पब्लिक रेकर्ड अफिस एवम् अमेरिकाको लाइब्ररी अफ कङ्ग्रेसमा त्यति खेरका नक्साहरू छन्।