सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिने

विविध

काठमाडौं, जेठ २ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्ने भएको छ ।

स्वास्थ्यकर्मीले कुनैपनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजैदेखि स्वास्थ्यकर्मीको परीक्षण शुरु गरिएको छ । यसैगरी मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, मजदुर र पत्रकारको पनि कोरोना परीक्षण गर्ने भएको छ ।

उनीहरु लकडाउनको समयमा पनि काममा खटिरहेकाले परीक्षण गर्न लागिएको हो । उनीहरुको परीक्षणका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको छ ।

केही दिनअघि दुई पत्रकार र केही सुरक्षाकर्मीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । यसैगरी मन्त्रालयले क्वारेन्टाइनमा रहेका सबैको कोभिड–१९ परीक्षण गर्ने भएको छ ।

यही जेठ ५ गतेभित्र क्वारेन्टाइनमा रहेका सबैको आरडीटी र पिसिआर विधिबाट परीक्षण गर्ने विज्ञ सल्लाहाकार डा कार्कीले जानकारी दिनुभयो । अहिलेसम्म मुलुकभरि १५ हजार ६०० जना क्वारेनटाइनमा रहेका छन् ।