काठमाडौं, जेठ १ : राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) को विद्यार्थी संगठन मकवानपुरद्वारा हेटौंडामा राँके जुलुस निकालिएको छ । बिहिबार साँझ सीमा अतिक्रमणको विरोधमा राप्रपा समर्थित विद्यार्थीद्वारा जुलुस निकालिएको हो ।
केन्द्रीय सदस्य अनिष चौलागाईं र स्ववियु सभापति लक्ष्मण पौडेलको नेतृत्वमा भएको प्रदर्शनमा विदेशी हस्तक्षेप मुर्दाबाद, सीमा मिच्न पाईदैन, कालापानी, लिपुलेक हाम्रो हो, आत्मसमर्पणवाद मुर्दाबाद जस्ता नारा लगाइएको थियो ।
विद्यार्थी नेताहरुले मातृ भूमिको निमित्त बलिदान गर्न तयार रहेको भन्दै सरकारले नेपाली भूमि फिर्ता ल्याउन खुट्टा कमाउन नहुने बताएका छन् । विदेशीको हेपाह र मिचाह प्रवृत्ति विरुद्ध सरकार खरो रुपमा उत्रन नसके राप्रपालाई सह्य नहुने उनीहरुको चेतावनी छ ।
