ताप्लेजुङ — पाँचथरको फालेलुङ गाउँपालिकाको करिब एक सय मिटर क्षेत्र आफ्नो रहेको भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले संरचना निर्माणमा रोक लगाएको छ । भारतले जारी गरेको नयाँ नक्साअनुसार उक्त क्षेत्र भारतमा पर्ने दाबीसहित एसएसबीले जंगे पिलरभन्दा यता आएर दबाब दिन थालेको हो । गाउँपालिकाले आहाल कबुलियती वनको आहाल भन्ने स्थानमा पर्यटन संग्रहालय बनाउन काम अघि बढाएको थियो । वैशाख २४ बाट भवन निर्माण थालिएकोमा एसएसबीले उक्त स्थानलाई दशगजा भन्दै २७ गते काममा अवरोध पुर्याएको छ ।
अवरोध सिर्जना भएपछि गाउँपालिका अध्यक्ष सहित स्थानीय जनप्रतिनिधि, सशस्त्र र नेपाल प्रहरीको टोलीले त्यस स्थानको अनुगमन गरी भारतीय सुरक्षाकर्मीसँग छलफल गरेको छ । छलफलमा पनि एसएसबीले नयाँ नक्साअनुसार एक सय मिटरसम्मको क्षेत्र भारतको रहेको र त्यहाँ संरचना बनाइए भत्काउने प्रतिक्रिया दिएको छ । गाउँपालिकाले सम्पूर्ण विवरण उल्लेख गरेर जिल्ला प्रशासनमार्फत नेपाल सरकारलाई जानकारी गराएको जनाएको छ ।
फालेलुङ गाउँपालिका–६ र इलामको सन्दकपुर गाउँपालिका–२ जोडिने उक्त क्षेत्रमा संग्रहालय बनाउन डिभिजन वन कार्यालय पाँचथरले १० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यही बजेटबाट आहाल चौंरीपालन कबुलियती समूहले निर्माण अघि बढाएको थियो । जग खन्दै गर्दा भारतीय सुरक्षाकर्मीले काम रोक्न दबाब दिएको हो ।

गाउँपालिकाका अनुसार यहाँ ५७/३ नम्बरको सानो तथा ५८/९ नम्बरको जंगे पिलर रहेको छ । नजिकैको ५७।४ नम्बरको सहायक पिल्लर गायब छ ।
