हिमाल आरोहणका क्रममा ५ जनाको निधनः पर्यटन विभागद्वारा श्रद्धाञ्जली व्यक्त

समाचार

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहण गर्ने क्रममा ५ जना आरोही तथा पथप्रदर्शकहरूले ज्यान गुमाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले एक विज्ञप्ति जारी गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा भएको यस असामयिक निधनले समग्र पर्वतीय पर्यटन क्षेत्र स्तब्ध भएको जनाएको छ ।

विभागले दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । विभागद्वरा जारी विज्ञप्तिमा उल्लेखित विवरण अनुसार सगरमाथा आरोहणका क्रममा तीन जना नेपाली माउन्टेन गाइडहरूको निधन भएको छ । सोलुखुम्बुका लाक्पा डेन्डी शेर्पाको वैशाख २० गते आधारशिविर नजिक, विजय घिमिरेको वैशाख २७ गते खुम्बु आइसफलमा र फुरा गेलजेन शेर्पाको वैशाख २८ गते तेस्रो शिविरमा निधन भएको हो । उनीहरू विभिन्न एजेन्सीमार्फत आरोहण दलको नेतृत्व र सहयोगमा खटिएका थिए ।

त्यस्तै, मकालु हिमाल आरोहणका क्रममा दुई जना विदेशी नागरिकको निधन भएको विभागले जनाएको छ । चेक रिपब्लिकका डेभिड रोबिनेकको वैशाख २१ गते मकालु २ को ७,३०० मिटर उचाइमा र संयुक्त राज्य अमेरिकाका जोहानेस शेलीको वैशाख २८ गते मकालु १ को ७,२०० मिटर उचाइमा निधन भएको हो ।