लोक संगीतमा अश्लीलता बढेको भन्दै कारबाही गर्न राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको माग

मनोरंजन

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली लोक कला, संस्कृति र दोहोरी गीतको क्षेत्रमा पछिल्लो समय अश्लीलता र विकृति बढेको भन्दै गम्भीर आपत्ति भएको जनाएको छ ।

सोमबार संस्थाका अध्यक्ष चन्द्रमणी गौतमको अध्यक्षतामा बसेको आकस्मिक भर्चुअल बैठकले सामाजिक मर्यादामा खलल पु¥याउने कलाकार र सामग्रीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

सोमबार सम्पन्न बैठकले विशेष गरी डिजिटल माध्यम र मेला–महोत्सवहरूमा प्रदर्शन गरिने प्रस्तुतिहरूले नेपाली लोक संस्कृतिको मौलिकता र गरिमालाई धमिल्याएको निष्कर्ष निकालेको छ ।

विवादित कलाकार र प्रस्तुतिमाथि कठोर कदम चाल्न माग गर्दै संस्थाले हालैका केही घटनाहरूलाई उल्लेख गर्दै सम्बन्धित पक्षमाथि छानबिनको माग गरेको छ ।

प्रकाश अधिकारीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको दोहोरीमा प्रकाश अधिकारी र कोपिला छिनालले प्रयोग गरेका शब्द, हाउभाउ र प्रस्तुतीले दोहोरीको मर्म र सभ्यतालाई आघात पु¥याएको संस्थाले ठहर गरेको छ । उक्त सामग्री केवल सस्तो चर्चा र आम्दानीका लागि निर्माण गरिएको लोक सञ्चारकर्मी नेपालले उल्लेख गरेको छ ।

त्यसैगरी लोक सञ्चारकर्मी नेपालले गुल्मीको महोत्सवमा गायिका ज्योति मगरले स्टेज प्रस्तुतीका क्रममा देखाएको गतिविधिलाई सामाजिक मर्यादा विपरीत र घोर आपत्तिजनक भएको जनाएको छ ।

त्यस्तै एक धार्मिक स्थलमा मोडल रिया खड्काले गरेको असभ्य नृत्यले धार्मिक र सांस्कृतिक आस्थामा चोट पु¥याएको भन्दै संस्थाले आपत्ति जनाएको छ ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यी गतिविधिहरूमा संलग्न कलाकारहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न जोडदार माग गरेको छ । संस्थाले यस पत्रको बोधार्थ गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र साइबर ब्युरोलाई समेत पठाएको छ ।
संस्थाका सचिव कमल सरगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण लोक तथा दोहोरी कलाकार, सर्जक र प्रस्तोताहरूलाई आफ्ना सिर्जनाप्रति जिम्मेवार बन्न र सामाजिक मर्यादाको सम्मान गर्दै सुसंस्कृत सामग्री मात्र सार्वजनिक गर्न हार्दिक आग्रह गर्दछौँ ।’
वि।सं २०६५ सालमा स्थापित यस संस्थाले लोक कला र मौलिक परम्पराको संरक्षणका लागि निरन्तर आवाज उठाउँदै आएको छ । नेपाली लोक संस्कृति हाम्रो पहिचानको धरोहर भएकाले यसको संरक्षणमा सबै पक्ष गम्भीर हुनुपर्नेमा संस्थाले जोड दिएको छ ।