कपिलवस्तु, वैशाख २९ः कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढेपछि जिल्लामा आवत जावत तथा चहलपहलमा कडाइ गरिएको छ ।
सुरक्षा समितिको बैठकले सोमबार साँझ ५ बजेदेखि लागू हुनेगरी आउँदो जेष्ठ ५ गतेसम्मका लागि थप कडाइ गरिएको हो ।
जिल्लामा अति आवश्यकीय वस्तुहरु ढुवानीमा प्रयोग हुने सवारी साधन, एम्बुलेन्स, शवबाहन र राजमार्ग हुँदै गुड्ने सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधन चल्न निषेध गरिएको छ ।

राजमार्ग हुँदै गुड्ने सवारीमा जिल्ला भित्र सवारीमा चढ्न र ओर्लिन निषेध गरिएको छ । मानिसहरुको आवत जावतलाई पनि निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले रोग फैलिन नदिन कडाइ गरिएको बताउनुभयो ।
पछिल्ला दिनहरुमा कपिलवस्तुमा कोरोना संक्रमण बढ्दै गइरहेको छ । जिल्लाको भारतीय सीमातर्फ १९ सय भन्दा बढी व्यक्ति अलपत्र अवस्थामा रहेको स्थानीय प्रशासनले जनाएको छ ।-

