गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्राधिकरणले भोलि (बुधबार, वैशाख १६ गते) साँझदेखि पर्सि (बिहीबार, वैशाख १७ गते) बिहानसम्म हावाहुरीको जोखिम उच्च रहने जनाएको छ।
प्रभावित हुने क्षेत्रहरू

प्राधिकरणका अनुसार निम्न प्रदेश र जिल्लाहरूमा हावाहुरीको बढी असर देखिनेछ:
कोशी प्रदेश: मोरङसहित आसपासका जिल्लाहरू।
मधेस प्रदेश: धनुषा र बारासहित आसपासका जिल्लाहरू।
लुम्बिनी प्रदेश: बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्लाहरू।
सुदूरपश्चिम प्रदेश: डडेल्धुरा र डोटीसहित आसपासका जिल्लाहरू।
समय र मौसम प्रणाली
प्राधिकरणका अनुसार भोलि वैशाख १६ गते बुधबार साँझ ५:४५ बजेदेखि हुरी सुरु भई पर्सि १७ गते बिहान ७:४५ बजेसम्म रहने अनुमान छ। पश्चिमबाट सुरु हुने यो प्रणाली क्रमशः पूर्वतर्फ सर्दै जाने र यससँगै मेघगर्जन, चट्याङ्ग र असिनासहित वर्षा हुने सम्भावना पनि रहेको छ।
हुन सक्ने क्षति र जोखिम
तीव्र गतिको हावाहुरीका कारण रूखहरू ढल्ने, कमजोर संरचना भत्किने, घरको छाना उडाउने तथा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुन सक्ने जोखिम रहेको छ।
सुरक्षाका लागि अपनाउनुपर्ने सावधानीहरू
प्राधिकरणले सर्वसाधारणलाई हावाहुरीको समयमा निम्न कुराहरूमा ध्यान दिन अनुरोध गरेको छ:
१. सकेसम्म घरबाहिर हिँडडुल नगर्ने।
२. घरका झ्याल र ढोकाहरू राम्रोसँग बन्द गर्ने।
३. जस्तापाताका छाना भएका घरहरूमा बन्धन बलियो बनाउने।
४. घरबाहिर आगो नबाल्ने र घरभित्र आगो बाल्दा सावधानी अपनाउने।
५. अग्ला रूख, बिजुलीका खम्बा, तारमुनि वा कमजोर संरचना नजिक नबस्ने।
६. चुँडिएका वा लत्रिएका बिजुलीका तारहरू नछुने।
७. उडेर आउने वस्तुले चोट लाग्न सक्ने भएकोले सधैँ चनाखो रहने।
प्राधिकरणका प्रवक्ता एवम् उपसचिव शान्ति महतद्वारा जारी विज्ञप्तिमा मौसमसम्बन्धी नियमित जानकारीमा रहन र आवश्यक सतर्कता अपनाउन सबैमा अपिल गरिएको छ
