काठमाडौं । नेपाल बैंक लिमिटेड को नाफामा यस वर्ष सामान्य सुधार देखिएको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै २ अर्ब ७९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ७८ करोड रुपैयाँको तुलनामा मात्र ०.३४ प्रतिशतले बढी हो।
खुद ब्याज आम्दानी भने बढेर ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ, अघिल्लो वर्षको ७ अर्ब १० करोड रुपैयाँबाट वृद्धि भएको हो। तर, खुद शुल्क तथा कमिशन आम्दानी घट्दै ६८ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ७५ करोड ३९ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १२.५२ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, वितरणयोग्य मुनाफा ३२ करोड १३ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.९४ प्रतिशतले बढी हो।

वितरणयोग्य मुनाफामा सुधारसँगै बैंकको लाभांश क्षमता पनि २.७८ प्रतिशतबाट बढेर २.९२ प्रतिशत पुगेको छ।
रिटेन्ड अर्निङ पनि सकारात्मक बनेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४१ करोड रुपैयाँ रहेको रिटेन्ड अर्निङ बढेर ३२ करोड १३ लाख रुपैयाँले धनात्मक बनेको छ । बैंकको रिजर्भ २४ अर्ब १३ करोड रुपैयाँबाट बढेर २५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
खर्चतर्फ बैंकले कस्ट अफ फण्ड घटाउन सफल भएको छ । यो ३.९६ प्रतिशतबाट घटेर ३.१३ प्रतिशतमा झरेको छ। यस्तै, खराब कर्जा अनुपात (एनपीएल) पनि ५.४५ प्रतिशतबाट घटेर ४.९६ प्रतिशतमा आएको छ । बेस रेट समेत ५.९६ प्रतिशतबाट घटेर ४.७१ प्रतिशतमा सीमित भएको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २५.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७२.७९ रुपैयाँ, पीई रेसियो १०.९७ गुणा र तरलता अनुपात ४१.०३ प्रतिशत कायम भएको छ ।
